काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ।
देउवा सहभागी हुने तय भएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि उनको भ्रमण पनि स्थगित भएको देउवाको सचिवालय स्रोतले जनाएको छ। ‘समिट स्थगित भएको औपचारिक जानकारी आइसकेको छैन। तर समिट नै स्थगित भएपछि त प्रधानमन्त्री जाने कुरै आएन,’ सचिवालय स्रोतले भन्यो।
भारतको गुजरातमा यही जनवरी १० देखि १२ (पुस २६, २७, २८)सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा २५ पुसमा भारत जाने कार्यक्रम तय भएको थियो।
समिटकै क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुने र द्विपक्षीय विषयहरुमा छलफल हुने कार्यक्रम थियो। हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृत गरेको थियो।
भारतमा बढेको ओमिक्रोन भेरिएन्टका कारण गुजरात समिट स्थगित भएको हो। पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
यसअघि मंगलबार ५८ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजारभन्दा धेरै संक्रमित थपिएका हुन्।
भारतमा अहिले संक्रमणदर ६.४३ पुगेको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा बढी छ।