आइतबार, वैशाख ७, २०८२

तेस्रो लहरको त्रास : ३० प्रतिशत बेड संक्रमितले भरिए स्मार्ट लकडाउन

छिमेक भारतमा मात्रै एक दिनमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, पुस २२, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, पुस २२, २०७८

vianetvianet

काठमाडौं– केही दिनयता विश्वभर नै कोरोना संक्रमण बढ्न थालेको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै संक्रमित हुनेको संख्या पछिल्लो साता ह्वात्तै बढेको हो। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै २२ लाख  ९४ हजार ०३९ जना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या कोरोना संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै हो।

triton college

छिमेक भारतमा मात्रै एक दिनमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ। यसअघि मंगलबार ५८ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजारभन्दा धेरै संक्रमित थपिएका हुन्। 

भारतमा अहिले संक्रमणदर ६।४३ पुगेको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा बढी छ। अहिलेसम्म भारतमा ३ करोड ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन्। 

त्यसो त यसअघि नै विज्ञहरुले सन् २०२२ को पहिलो साता कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइसकेका थिए। विश्वको लय पछ्याउँदै नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। बुधबारमात्रै देशभर ४३५ जना कोरोना संक्रमित थपिएका छन्, जुन तीन महिनायताकै उच्च संक्रमण हो। यसअघि कात्तिक २३ मा ४४३ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमण घट्दो दरमा थियो। 

छिमेक भारतमा मात्रै एक दिनमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाको आर भ्याल्यु (रिप्रडक्टिभ भ्याल्यु) पनि १.०६ प्रतिशत पुगेको छ। आर भ्याल्यु १ भन्दा तल हुँदा महामारी नियन्त्रणतर्फ गएको भन्ने बुझिने र एक प्रतिशतभन्दा बढ्नुले महामारी नियन्त्रणबाहिर जाने संकेत गर्ने विज्ञहरु बताउँछन्। अब नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउने संकेत देखिएको कतिपय विज्ञको बुझाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय भारतमा ओमिक्रोन भेरिएन्ट बढेको छ। नेपालमा पनि केही दिनयता देखिएका संक्रमितमा आर भ्याल्यु बढेकाले तेस्रो लहरको संकेत देखिएको उनले बताए। हाल गण्डकी प्रदेशमा आर भ्याल्यु सबैभन्दा धेरै १.६ प्रतिशत छ। आर भ्याल्युले कोभिड संक्रमित एकजनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ। 

National life insurance

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले पनि नेपालमा तेस्रो लहरको जोखिम देखिएको बताइन्। पछिल्लो एक सातामा कोरोना संक्रमणदर ३.८ प्रतिशत पुगेको छ। 

ओमिक्रोन भेरिएन्ट गतिमा तीव्र फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा विभागले स्थानीय र प्रदेश सरकारलाई सात बुँदे निर्देशन दिएको छ। आइतबार पत्र लेख्दै इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई सतर्कता अपनाउन भनेको छ। नयाँ भेरियन्टका कारण जोखिम झनै बढेकाले थप सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले निर्देशन दिएको छ। महाशाखाले जनस्वास्थ्य मापदण्डहरूको पालना गर्न–गराउन, परीक्षणको दायरा बढाउन, क्वारेन्टिनमा रहेका मानिसको उचित व्यवस्थापन गर्न पनि भनेको छ।

किन बढ्यो संक्रमण? 

अहिले धेरै मुलुकमा कोरोना संक्रमणको नयाँ भेरिएन्ट पुष्टि भइसकेको छ। अन्यभन्दा यो भेरिएन्ट निकै संक्रामक रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन ९ हजार २०० जनासम्म संक्रमित थपिएको तथ्यांक छ। अहिलेको भेरिएन्ट फैलिएको खण्डमा यो आँकडा पनि नाघ्ने जानकारहरु बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दिनमा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। 

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि बढ्नु स्वाभाविक हो। यसलाई पूर्ण रुपमा रोक्छु भनेर सकिँदैन पनि। खुला सीमा भएका कारण भारतमा फैलिएको संक्रमणको असर नेपालमा पनि स्वतः पर्छ । खुला नाका र हवाई मार्गमार्फत भइरहेको आवागमनका कारण कोरोना संक्रमण बढेको हो। विभिन्न राजनीतिक गतिविधिका कारण भएको भीडभाड, मानिसहरुले मास्क लगाउन बिर्सनु, दूरी कायम नगर्नुले पनि संक्रमण बढेको हो।’ 

ओमिक्रोन भेरिएन्ट गतिमा तीव्र फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा विभागले स्थानीय र प्रदेश सरकारलाई सात बुँदे निर्देशन दिएको छ। 

अर्का जनस्वास्थ्यविज्ञ डा. शरद वन्त पनि मरासिनीसँग सहमत छन्। वन्त भन्छन्, ‘नेपालीहरुले निकै हेलचेक्र्र्याइँ गर्न थालेका छन्, राजनीतिक पार्टीको महाधिवेशनको भिडभाडले कोरोना छ भन्ने नै बिर्सिएको थियो। होटल–रेस्टुरेन्टमा उस्तै अवस्था छ। यिनै कारणले संक्रमण छिटो फैलिएको छ। अर्को कुरा भारतका विभिन्न सहरमा ओमिक्रोन भेरिएन्ट फैलिएको छ। पहिलो र दोस्रो लहरमा जसरी सीमा नाकाबाट कोरोनाका केसहरु भित्रिएका थिए, त्यसैगरी यो समय पनि त्यस्तै सम्भावना छ।’

यसअघि भारतमा डेल्टा भेरिएन्ट पुष्टि भएको डेढ महिनापछि नेपालमा देखा परेको थियो। ओमिक्रोन भने त्योभन्दा चाँडो देखियो। पुरानो भेरिएन्टभन्दा यो चाँडो फैलिने विज्ञहरुले बताइरहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार पछिल्लो समय परीक्षण गर्दा एस जिन नेगेटिभ देखिन थालेको छ। ‘यसको मतलब नेपालमा पनि ओमिक्रोन फैलिएको अनुमान गर्न सकिन्छ। तर जिन सिक्वेन्सिङको रिपार्ट नआइसकेकाले अहिल्यै पुष्टि गर्न मिल्दैन,’ उनले भनिन्। विज्ञहरु ओमिक्रोन तीव्र गतिमा फैलिएमा त्यसले फेरि अर्को रुप परिवर्तन गरी नयाँ भेरिएन्ट बनाउन सक्ने हुनाले सकेसम्म सचेत हुन आग्रह गर्छन्। जति धेरै संक्रमण फैलियो, त्यति नै भाइरसले रुप परिवर्तन गर्न सक्ने सम्भावना हुन्छ।

अस्पतालको अवस्था र लकडाउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेको भन्दै अस्पतालका ३० प्रतिशत बेड कोभिड संक्रमित बिरामीले भरिए स्मार्ट लकडाउनमा जाने संकेत गरेको छ। मन्त्रालयकी प्रवक्ता मिश्राले बेडको स्थितिबारे रिपोर्टिङ गर्न अस्पतालहरुलाई निर्देशन दिइएको जानकारी दिइन्। मिश्राका अनुसार स्मार्ट लकडाउन गाइडलाइनमा ३० प्रतिशतभन्दा बढी बेड भरिएमा जोखिमको सूचक मानिन्छ। मिश्रा भन्छिन्, ‘त्यस्तो अवस्था आउन नदिन सबै नागरिकले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।’

कोरोना संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम संख्याभन्दा बढी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। डब्लुएचओले प्रत्येक हप्ता प्रतिहजार जनसंख्यामा कम्तीमा पनि एउटा आरटीपीसीआर हुनुपर्ने भनेको छ। नेपालमा त्योभन्दा बढी नै भइरहेको छ। तर प्रदेशमा भने यो मापदण्ड पुगेको छैन। प्रदेशमा पनि लक्ष्यअनुसार परीक्षण गर्न सकेमा निगरानीको दायरामा ल्याउन सकिने उनको भनाइ छ। कन्ट्याक्ट ट्रेसिङ गर्ने, सम्पर्कमा आएका व्यक्तिहरुको निगरानी तथा परीक्षण, नाकाहरुमा निगरानी गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबै प्रदेशलाई पनि पनि यसैअनुरुप काम गर्न अनुरोध गरेको छ।

नेपालमा अहिले ५ हजार २२५ जना सक्रिय कोरोना संक्रमित छन्। उनीहरुमध्ये ९० प्रतिशत होम आइसोलेसनमा छन्। 

नेपालमा हालसम्म ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। ओमिक्रोन पत्ता लगाउन मन्त्रालयले जिन सिक्वेन्सिङको काम गरिरहेको प्रवक्ता मिश्राले बताइन्। आगामी माघ दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने मन्त्रालयको आँकलन छ। त्यसैलाई मध्यजनर गर्दै मन्त्रालयले ¥यापिड एक्सन प्लान तयार गरिरहेको मिश्राले सुनाइन्। ओमिक्रोन रोकथामका लागि अस्पतालमा बेड व्यवस्थापन, पूर्वाधार विकास, अक्सिजन तथा औषधिको व्यवस्थापनमा लाग्न विज्ञहरुको सुझाव दिँदै आएका छन्। 


प्रकाशित: Jan 06, 2022| 14:30 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्