काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।
सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो। राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी महासचिव लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिमस्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए। बिमस्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरे।
बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए।
प्रारम्भमा बङ्गलादेश, भारत, श्रीलंक र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मार र नेपाल थपिएपछि बिमस्टेक बनेको हो। २०५४ साल जेठ २४ गते स्थापना भएको उक्त क्षेत्रीय संगठनको सदस्यता नेपालले २०६० साल माघमा लिएको हो।