काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्।
उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराएका छन्। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने जुन सेवा, सुविधाहरु छन, त्यसलाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउनका निमित्त सबै मन्त्री, सबै सचिवहरुलाई निर्देशन दिनुभएको छ।’
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।
प्रधानमन्त्रीको निर्देशनमा मुख्य बुँदाहरु :
१. जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरुलाई चुस्ताव बनाउने।
२. अत्यावश्यक सेवाहरु जनताको घर दैलोमो पुर्याउने सरकारको दायित्व भएकाले सो अनुसार काम गर्ने।
३. विकास निर्माणका परियोजनाहरुको गति बढाउनका लागि आवस्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्ने।
४. कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रवन्ध प्रभावकारी रुपमा अघि बढाउने।
५. कर्मचारीको क्षमता वृद्धि गरेर विकास आयोजनाहरुको कार्यन्वयन पक्षलाई चुस्त बनाउने।
६. राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र बनाउने।
७. सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउने।
८. स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउने।
९. जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउने।