बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई शेखरले प्रश्‍न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरियो?

देउवालाई शेखरले प्रश्‍न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरियो?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा नियुक्तिको मापदण्डको बारेमा प्रश्‍न गरेका छन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा नियुक्तिको मापदण्डको बारेमा प्रश्‍न गरेका छन्। 

सभापतिमा पराजित भएका शेखरले बुधबार आफ्ना पक्षका नेता, कार्यकर्ताहरुलाई काठमाडौंमा सम्बोधन गर्दै निष्ठावान, इमान्दार र त्यागी नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना गर्न आवश्यक रहेको बताएका हुन्।

उनले चार बुँदे वक्तव्य जारी गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुयाउने अभियानमा विश्राम नलागेकोसमेत बताएका छन्। 

उनले थप भनेका छन्, 'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के “मापदण्ड" अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।'

उनले अगाडिका बाटाहरु सहज नभएको उल्लेख गर्दै तीन तहको निर्वाचनकमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन देशभरी साथीहरु सँगै जानुपर्ने बताएका छन्। उनले थप भनेका छन्, 'कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं। हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं। हामी कनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौं। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौँ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं।'

शेखरका चार बुँदा 

१) संगठनभित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरीरहेका छन। त्यस कारण हामी अग्‍नि परीक्षामा छौं।

२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ, अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ। हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ। पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रकृयाले पार्टीमा उर्जाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ।

३) पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के “मापदण्ड" अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।

४) सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ? मलाई थाहा छ। हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौँ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ? मलाई लाग्छ हामी सक्छौं।


प्रकाशित: Jan 05, 2022| 18:26 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...