काठमाडौं- नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले परराष्ट्रमन्त्री नारायण खड्कासँग उनकै कार्यकक्षमा मंगलबार अपराह्न शिष्टाचार भेट गरेका छन्।
महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण भएको बताउँदै बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्याएको योगदानको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्रीले महासचिवको नेतृत्वको प्रशंसा गर्दै बिमस्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यसै वर्ष हुन लागेको पाँचौं शिखर सम्मेलनले अहिलेसम्मको प्रगतिलाई बलियो बनाउने र क्षेत्रीय आकांक्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
दुवै पक्षले यस क्षेत्रको अर्थतन्त्र र समाजमा कोभिड–१९ महामारीले पारेको प्रभावको मूल्यांकन गर्दै बिमस्टेकको संरचनामार्फत घनिभूत सहकार्यमा काम गर्नुपर्नेमा जोड दिएका थिए। मंगलबार नै महासचिव लेकफेलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल र वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई बेग्लाबेग्लै भेटेर व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको सम्पर्कका साथै नेपाल–बिमस्टेक सहयोगका बृहत्तर विषयमा छलफल भएको थियो ।
महासचिव लेकफेलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।