काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बत्तीस पुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ। पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि कोइरालाले पहिलो पटक आफू निकट नेताहरुसँग छलफल गरिरहेका हुन्।
छलफलमा कोइरालाको समूहबाट पदाधिकारी लडेका नेताहरु उपस्थित छन्। उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजालका साथै केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि बैठकमा सहभागी भएको उक्त समूहका एक नेताले जानकारी दिएका छन्।
सभापति शेरबहादुर देउवाललाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)ले ३३ जना मनोनयन गर्ने अधिकार दिएको छ। अहिलेसम्म देउवाले १३ जना केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन्। तर उपसभापति र महामन्त्रीमा पराजित भएका शेखर पक्षका नेतालाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका छैनन्।
शेखर समूहका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित नगरेको भन्दै देउवाको आलोचना भइरहेको छ। यही अवस्थामा शेखरले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। शेखर समूहले सभापति देउवासँग भाग नखोज्ने तर सबैलाई समेटेर अघि बढ्नुपर्ने बताइरहेको छ।