काठमाडौं– विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई 'नेपाल दिवस' का रुपमा मनाउन माग गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।’
पार्टीले संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।’
विवेकशील साझाले राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन पनि माग गरेको छ। यस्तै नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न, हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न पनि विज्ञप्तिमा माग गरिएको छ।
यसैबीच पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। यात्रा माघ १६ गते सहिद दिवसका दिन समापन हुनेछ।