बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बिदा हुँदै राष्ट्रिय सभाका २० सांसद, यी हुन् अबका उम्मेदवार [नामावलीसहित]

बिदा हुँदै राष्ट्रिय सभाका २० सांसद, यी हुन् अबका उम्मेदवार [नामावलीसहित]

राष्ट्रिय सभाका निर्वाचनका लागि एमाले, नेपाली कांग्रेस र नेकपा एसले उम्मेदवारको टुंगो लगाएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ। चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत गरी २० सांसद छन्।

यस्तै, पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन्।

नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको कार्यकाल फागुन २१ मा पूरा हुनेछ। राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चारवर्षे कार्यकाल समाप्त हुँदैछ।

विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो। स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ।

चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन्। माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ।

राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ। प्रवुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ। विसं २०७४ भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली कांग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सड्घीय समाजवादी फोरमले दुई/दुई सिटमा विजयी भएका थिए।

उता सत्तारुढ दलहरूको गठबन्धनले भने राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा समेत मिलेर जाने सहमति निकालेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ सत्ताधारी दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी थिए। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। सरकारले राजनीतिक दलको सहमतिमा एकतिहाइ सदस्यको रिक्त हुने पदका लागि निकट भविष्यमै निर्वाचनको मिति घोषणा गर्ने यसअघि नै जनाइसकेको छ।

माघ १२ गते राष्ट्रिय सभा सदस्यको चुनाव तोकिएको छ। फागुन २१ गते पदावधि समाप्त हुने भएकाले पदावधि सकिनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। 

एमालेले टुंग्यायो उम्मेदवार

नेपाल एमालेले राष्ट्रिय सभा सदस्यका १९ जना उमेदवारको नाम टुंगो लगाएको छ। सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो। 

बैठकको निर्णयअनुसार एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ।

बागमती  प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले  गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। 

यसैगरी लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिम  प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ।

यी हुन् कांग्रेसका उम्मेदवार

सत्तारुढ दल नेपाली कांग्रेसले पनि उम्मेदवार टुंग्याएको छ। कांग्रेसको निर्णयअनुसार प्रदेश १ मा गोपाल बस्नेतलाई उम्मेदवार बनाइने भएको छ। यस्तै बागमतीमा कृष्णप्रसाद पौडेल उम्मेदवार बन्ने भएका छन्। 

कमला पन्तलाई गण्डकीबाट उम्मेदवार बनाइनेछ भने युवराज शर्मा लुम्बिनीबाट उम्मेदवार बन्नेछन्। यस्तै,  दुर्गा गुरुङ कर्णालीबाट उम्मेदवार बन्नेछन् भने नारायणदत्त मिश्र सुदुरपश्चिमबाट उम्मेदवार बन्ने भएका हुन्।

मिश्र सुदुरपश्चिम प्रदेशमा सभापतिका लागि भएको निर्वाचनमा हारेका नेता हुन्। कमला पन्त सहमहामन्त्रीमा पराजित हुन् भने कृष्णप्रसाद पाैडेल कांग्रेस कार्यालयका मुख्यसचिव हुन्। 

लामो समय पार्टीमा योगदान गरेकालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए। 'पार्टीमा लामो समयदेखि योगदान गरेकाहरूलाई उम्मेदवार बनाइएको छ। योग्य उम्मेदवारहरूलाई छानेका छौँ र अनुभवीलाई प्राथमिकता दिइएको छ,' बैठकपछि केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने। 

यसअघि नै १९ सिटका लागि हुने राष्ट्रियसभाका निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा मिलिसकेको छ। सहमति अनुसार यसअघि चुनाव जितेका सिटमा सम्बन्धित दललाई नै प्रदान गर्ने सहमति भएको छ। बाँकी सिटमा भने नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ।

यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन्। उनका अनुसार ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको हो।

नेकपा एसले पनि टुंग्यायो

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ। नेकपा एकीकृत समाजवादीको सोमबार बसेको बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवाहरु टुंगो लगाएको हो। 

जसअनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरा र सुदूरपश्चिमबाट गरिमा शाहलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो।

यी हुन् मतदान केन्द्र

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ८ वटा मतदानस्थल  र १४ वटा मतदान केन्द्र तोकेको छ। प्रदेश १ मा दुई वटा मतदानस्थल तोकिएको छ भने अन्य प्रदेशमा १-१ वटा तोकिएका छन्। प्रदेश १ बाहेकका मतदानस्थलमा २-२ वटा मतदान केन्द्र तोकिएका छन्। 

प्रदेश १ मा पालिका प्रमुख/उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला मतदानकेन्द्र/स्थल तोकिएका छन्। 

प्रदेश २ मा महेन्द्र नारायण निधि भवन मतदानस्थल छ। यस्तै बागमतीमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह र गण्डकीमा प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र छ।

यस्तैगरी लुम्बिनीका मतदाताले कर्मचारी मिलन केन्द्र दाङमा पुगेर मतदान गर्नुपर्नेछ भने कर्णालीका मतदाता प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदानका लागि पुग्नुपर्नेछ। सुदूरपश्चिम प्रदेशका मतदाताले प्रदेशसभा भवन धनगढीमा पुगेर मतदान गर्नेछन्। 

राष्ट्रिय सभा निर्वाचनमा पालिकाका प्रमुख  र उपप्रमुखका  साथै सम्बन्धित प्रदेशका प्रदेश सांसद मतदाता हुन्छन्। पालिकाका प्रमुख/उप्रमुखको मतभार १८ हुन्छ भने प्रदेश सांसदको मतभार ४८ हुन्छ। 

यस्तो छ निर्वाचन कार्यक्रम

प्रकाशित: Jan 03, 2022| 19:58 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...