काठमाडौं- कोभिडको जोखिम न्युनीकरण तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटेर काम गर्दागर्दै ज्यान गुमाउने २८ स्वास्थ्यकर्मी/सुरक्षाकर्मीको परिवारलाई सरकारले २५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ फ्रन्टलाइनरलाई ७ करोड रुपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गरिएको जानकारी दिएको हो।
०७७ साउन १ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार कोभिड नियन्त्रणको काम गर्दागर्दै मृत्यु भएका परिवारलाई जनही २५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराइएको हो। कोरोनाको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा निजको परिवारलाई नेपाल सरकारले क्षतिपूर्तिस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
मन्त्रालयका अनुसार हालसम्म कोभिडका कारण मृत्यु भएको दाबी गर्न आएका १३ जना सुरक्षाकर्मी र १५ जना स्वास्थ्यकर्मीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
क्षतिपूर्तिमा पाउनेहरुमा सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक डा. हरिप्रसाद सापकोटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक सीताराम भण्डारी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजिस्ट पंकजकुमार यादव, गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक राजन साफीका परिवार रहेका छन्।
त्यस्तैगरी कल्याणपुर नगरपालिका सिराहाका जनस्वास्थ्य अधिकृत गौरीशंकर देव, वीर अस्पतालका सिअहेब कालु सिंह, तुर्माखाँद गाउँपालिका अछामका सिअहेब कपिलकुमार श्रेष्ठ, बैजनाथ गाउँपालिका बाँकेकी सिअनमी रम्भा भारती, लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीकी सिअनमी गोमाकुमारी गुरुङका परिवारले पनि २५ लाख रुपैयाँका दरले क्षतिपूर्ति रकम पाएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोभिडका कारण मृत्यु भएको दाबी गर्न आएका १३ जना सुरक्षाकर्मी र १५ जना स्वास्थ्यकर्मीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
व्यास नगरपालिका दार्चुलाका सिअहेब गजदीश एतवाल, वेदकोट नगरपालिका कन्चनपुरकी सिअनमी सरस्वती कुँवर, जगरनाथपुर गाउँपालिका पर्साका सिअहेब रामसिकिल प्रसाद साह, जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्ना, कान्ति बाल अस्पतालकी स्वीपर कान्छी पोडे र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीका हेल्पर शम्भु विश्वकर्माका परिवारलाई पनि उक्त रकम उपलब्ध गराइएको छ।
फ्रन्टलाइनरको रुपमा कोभिड नियन्त्रणमा काम गर्दागर्दै मृत्यु भएका १३ जना नेपाल प्रहरीका कर्मचारीका परिवारलाई पनि २५ लाख रुपैयाँका दरले क्षतिपूर्ति रकम दिइएको छ।
कोभिडको जोखिम नियन्त्रण तथा न्यूनीकरणमा खटिँदाखटिँदै मृत्यु भएको भनिएका तीन कर्मचारीका परिवारले भने क्षतिपूर्ति पाउन सकेका छैनन्। मंगलसेन नगरपालिका,अछामका सिअहेव गुप्त प्रसाद ढुंगाना, वैजनाथ गाउँपालिका बाँकेकी अनमी शोभा कुमारी बटाला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कृष्णगोपाल श्रेष्ठका परिवारले क्षतिपूर्ति नपाएका हुन्।
मन्त्रालयका अनुसार गुप्तप्रसाद ढुंगाना र शोमा कुमारी बटालाको मृत्यु सरकारले निर्णय गर्नुभन्दा पहिला नै भएको थियो। उनीहरु स्वास्थ्यकर्मी भए तापनि मन्त्रिपरिषदको निर्णयले २०७७ साउन १ गतेभन्दा पछाडि मृत्यु हुनेको परिवारलाई क्षतिपूति उपलब्ध गराउने निर्णय गरेको थियो। ढुंगानाको मृत्यु २०७६ सालमा नै मृत्यु भएको थियो भने बटालाको पनि ०७६ चैतमा मृत्यु भएको थियो। त्यस्तै मन्त्रालयमा कार्यरत कृष्ण गोपाल श्रेष्ठ भने कोभिड-१९ नियन्त्रण तथा रोकथाममा खटिए/नखटिएको प्रष्ट नभएकाले उनको परिवारले क्षतिपूर्ति नपाएको मन्त्रालयको भनाइ छ।