शुक्रबार, जेठ ४, २०८१

त्रासैत्रासमा गुड्छन् काठमाडौंमा साइकल

ललितपुरमा जुन स्तरको साइकल लेन बनेको छ, यसले पसल राख्नेलाई मात्रै सुविधा भएको छ। अझै पार्किङ गर्नेलाई सहज बनाएको छ।
 |  मंगलबार, पुस २०, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

मंगलबार, पुस २०, २०७८

काठमाडौं– काठमाडौं र ललितपुर महनगरपालिकामा ‘साइकल सिटी’ को अवधारणा नारामै सीमित भएको छ। केही ठाउँमा निर्माण गरिएका साइकल लेन अनुशासन पालना नहुँदा साइकल यात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

triton college

२०७५ साउन ५ गते स्कुटरको ठक्करबाट बबरमहलमा एक साइकल यात्रीको मृत्यु भयो। रामेछापका २४ वर्षीय हीराबहादुर थामीले भक्तपुर जाँदै गर्दा बाटोमै ज्यान गुमाएका थिए। २०७५ कात्तिक १० गते काठमाडौंको कीर्तिपुरमा खुला ढलमा खसेर साइकल यात्रु योगप्रशिक्षक श्याम श्रोठको मुत्यु भयो। २०६७ कात्तिक दोस्रो साता साइकलमा सवार संरक्षणविद् डा. प्रल्हाद योञ्जनको बल्खुमा ट्रकको ठक्करबाट मृत्यु भयो। यी त साइकल दुर्घटनामा निधन भएका केही उदाहरण हुन्। सहरमा दिनहुँ कति साइकल दुर्घटनामा परेका हुन्छन्, तिनको कुनै लेखाजोखा हुँदैन।

यस्ता घटनाले सडकमा साइलकयात्री जोखिममा रहेको मात्रै देखाउँदैन्, उनीहरुप्रति राज्यका निकाय गैरजिम्मेवार छन् भन्ने पनि स्पष्ट हुन्छ। सडक साइकलयात्रीको पनि हो र उनीहरुले पनि प्रयोग गर्न पाउनुपर्छ भन्ने नारा घन्काउँदै चुनाव जितेकाहरुले यसबारे सिन्को भाँचेका छैनन्। साइकलमा हिँड्नेका दुःख कसैले सम्बोधन गरेको छैन। 

ललितपुरमा जुन स्तरको साइकल लेन बनेको छ, यसले पसल राख्नेलाई मात्रै सुविधा भएको छ। अझै पार्किङ गर्नेलाई सहज बनाएको छ।

साइकल यात्री रुदिनसिंह महर्जन दैनिक ललितपुरबाट धुम्बाराहीस्थित कार्यालय साइकलमै  आउजाउ गर्छन्। ट्राफिक चाप हुने भएकाले साइकलबाट कार्यालय आउजाउ गर्न थालेको उनी बताउँछन्। साइकलका लागि बाटो नभएकाले उनलाई यात्रा गर्न सकस छ। 

‘पछिल्लो समय काठमाडौंमा पनि साइक्लिङ गर्ने क्रम पनि बढ्दै गएको छ। सडकमा चाप पर्ने खालका सवारी मात्रै सडकमा गुड्ने गरेका थिए। मानिसमा चेतना पनि बढेको छ’, उनले भने। साइकलमा हिँड्दा बाइक र चारपांग्रे गाडीका कारण असुरक्षित हुने गरेको उनको भनाइ छ। उनी अचेल बागमती करिडोर हुँदै आउजाउ गर्छन्। 

corrent noodles
Metro Mart

‘अहिले ललितपुरमा जुन स्तरको साइकल लेन बनेको छ, यसले पसल राख्नेलाई मात्रै सुविधा भएको छ। अझै पार्किङ गर्नेलाई सहज बनाएको छ’, उनले भने। साइकल लेनमा बाइक पार्किङ, गाडी पार्किङ गरिदिँदा समस्या झेल्नुपरेको उनको भनाइ छ।

ललितपुर महानगरपलिकाले साइकल लेन निर्माणमा थोरै काम त गरेको छ तर जोखिम बढाउने गरी। भइरहेको सडकमा हरियो रङ पोतेर साइकल लेन छुट्याइएको छ। जाउलाखेलदेखि कुपण्डोलसम्मका सडकमा साइकल देखिन्छ। महानगरलाई साइकलमैत्री बनाउने योजनाअन्तर्गतको पहिलो चरणको जाउलाखेल, पुल्चोक, कुपण्डोल र मंगलबजारसम्म साइकल लेन बनाइएको प्रवक्ता राजु महर्जन बताउँछन्। कुपन्डोलदेखि जाउलाखेलसम्म र लगनखेलदेखि मंगलबजारसम्म साइकल लेन सञ्चालनमा आइसकेको छ। तर साइकल लेन बस रोक्ने र बाइक पार्किङ गर्ने स्थानमा सीमित भएका छन्।

नेपाल साइकल सोसाइटीको संयोजनमा ललितपुर महानगरपालिकाले साइकल लेन सञ्चालनमा ल्याएको हो। ललितपुर महानगरभित्रका सडकमा साइकल चालक निर्बाध रुपमा साइक्लिङ गर्ने अवस्था नरहेको सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ बताउँछन्। उनका अनुसार ललितपुरमा गाडी गुड्ने सडककै एक कुनामा रङ पोतेर निर्माण गरिएको साइकल लेन जोखिमरहित भने छैन। ‘केही नहुनु भन्दा केही भएको छ। तर जोखिमरहित भने छैन। सुरक्षित बनाउनु मुख्य चुनौती हो’, उनी भन्छन्।

काठमाडौं महानगरमा भने साइकल लेन छैन। २०७४ को स्थानीय निर्वाचनताका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई साइकल सिटी बनाउने आश्वासन दिएका थिए। मेयर शाक्यले तीनकुने, माइतीघर मण्डला, एयरपोर्ट, सिनामंगलमा बनेका साइकल लेनको कमी कमजोरी सुधार गरेर पूर्ण रूपमा व्यवस्थित बनाउने घोषणा गरेका थिए। निर्वाचित भएको करिब ५ वर्ष पुग्नै लाग्दासमेत मेयर शाक्यको साइकल सिटी बनाउने कुरा गफमै सीमित छ।

महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल काठमाडौंको तीनकुनेदेखि माइतीघरसम्म ५ किलोमिटरको बायाँतर्फ साइकल लेन बनाउने भनेर सडक विभागसँग स्वीकृत लिइसकेको बताउछन्। तर, काम अघि बढ्न सकेको छैन। 


सडक विभाग, विद्युत् प्राधिकरणसँग स्वीकृत लिन ढिला भएकाले अहिलेसम्म काम अगाडि बढ्न नसकेको उनको भनाइ छ। उनी भन्छन्, ‘सडक विभागबाट बल्ल स्वीकृत भयो। साइकल लेन बनाउने डिजाइन अन्तिम चरणमा पुगेको छ। सडक विभाग र विद्युत् प्राधिकरणसँग अनुमति लिएर मास्टर प्लान बनाउँदैछौं।’ 

बजेट सधैं विनियोजन, काम शून्य

काठमाडौं महानगरपालिकामा साइकल लेन निर्माणको काम करिब शून्य अवस्थामा छ। तर, साइकल लेनकै लागि भनेर आव २०७४/७५ देखि निरन्तर बजेट छुट्याइँदै आएको छ। २०७४/७५ मा एक करोड २० लाख, २०७५/७६ मा ५० लाख, २०७६/७७ मा ५० लाख, २०७७/७८ मा एक करोड, २०७८/८९ का लागि चार करोड २० लाख बजेट विनियोजन भएको छ। अहिलेसम्म साइकल लेन निर्माणको काम शून्य अवस्थामा छ। कहाँ–कहाँ निर्माण गर्ने भन्ने टुंगो लागेको छैन।

पूर्वाधारविद्हरूका अनुसार राजधानीमा साइकल लेनको विशेष अवाश्यकता छ। सूर्यविनायकदेखि कलंकी हुँदै थानकोटसम्म र बूढानीलकण्ठदेखि महाराजगन्ज–रत्नपार्क–माइतीघर–थापाथली हुँदै राजधानीका चारैतिरबाट साइकल लेन जोड्न सकिने उनीहरु बताउँछन्। यी सडकमा सडकको चौडाइ र ट्राफिक चाप हेरेर डिजाइनमा साइकल लेन बनाउन सकिने पूर्वाधारविद् डा. नवराज खतिवडाको भनाइ छ। 

महानगरमा साइकल लेन बनाउन बाटो फराकिलो चाहिन्छ। जुन काठमाडौंका सबै स्थानमा नभेटिने उनले बताए। खतिवडाले भने, ‘साइकल लेन बनाउन सुरुदेखि नै योजना बनाएर त्यहीअनुसार निर्माण गर्नुपर्ने हो। तर काठमाडौंमा यसरी योजना बनाएको पाइँदैन। त्यसैले काठमाडौंमा साइकल लेन रहरको विषय मात्रै भएको छ।’ 

प्रकाशित: Jan 04, 2022| 10:23 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।