काठमाडौं- नेपाल एमालेले राष्ट्रिय सभा सदस्यका १९ जना उमेदवारको नाम टुंगो लगाएको छ। सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।
बैठकको निर्णयअनुसार एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ।
बागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ।
यसैगरी लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ।
सुदूरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनित एकजना सांसद बिदा हुने क्रममा छन्। राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।