काठमाडौं- नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ। नेकपा एकीकृत समाजवादीको सोमबार बसेको बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवाहरु टुंगो लगाएको हो।
जसअनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरा र सुदूरपश्चिमबाट गरिमा शाहलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो।
यसअघि कांग्रेसले पनि राष्ट्रिय सभाका उम्मेदवारहरु टुंगो लगाएको छ। कांग्रेसले प्रदेश १ मा गोपाल बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।
१९ सिटका लागि हुने राष्ट्रियसभाका निर्वाचनमा यसअघि नै सत्ता गठबन्धनबीच भागबन्डा मिलिसकेको छ। सहमति अनुसार यसअघि चुनाव जितेका सिटमा सम्बन्धित दललाई नै प्रदान गर्ने सहमति भएको छ। बाँकी सिटमा भने नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार जना, नेकपा एकीकृत समाजवादीबाट चार जना, कांग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन्।
राष्ट्रपतिबाट मनोनित हुने एक सिटबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।