बुधबार, भदौ ३, २०८३

देशको आवश्यकताले म फेरि अध्यक्ष भएको हुँ : दाहाल

नेकपा एकीकृत माओवादीका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकताले आफू फेरि अध्यक्षमा निर्वाचित भएको बताएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– नेकपा एकीकृत माओवादीका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकताले आफू फेरि अध्यक्षमा निर्वाचित भएको बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले भने, ‘म फेरि राष्ट्र र जनताप्रति आभारी भएको छु। राष्ट्र र जनताप्रति सेवा गर्ने फेरि ठूलो अवसर आएको छ।’

उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकता हेर्दा केही समय सक्रिय रहेर दुःख गर्नुपर्छ भन्ने महसुस भएको बताए।

दाहालले स्थिरताको आवश्यकता हेर्दा पनि केही समय सक्रिय भएर दुःख गर्न खोजेको बताए। उनले प्रचण्ड नहुने हो भने पार्टी के होला भनेर आलोचना गर्नेहरूप्रति संकेत गर्दै भने, ‘यो प्रश्न गलत छ, माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार हो। यसले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको छ। त्यसैले प्रचण्ड नहुँदैमा माओवादी सकिँदैन। माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत जित होइन।’

उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए। दाहालले भने, ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो। म धेरै अघिदेखि नेतृत्वमा छु। धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ। मलाई नेपाली जनताले इतिहासको गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने जिम्मेवारी दिएका छन्।’

महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको दाबी गर्दै उनले भने, ‘त्यसलाई कसैको आदेशमा चल्यो भन्नु ठूलो विडम्बना हो।’

दाहालले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताए। उनले भने, ‘प्रतिवेदन र विधानमाथि समूहका छलफललाई अगाडि ल्याएर बहस गरेर पारित गरेका छौं। महाधिवेशन एक व्यक्तिको आदेशमा चल्न पनि दिएनौं।’ प्रचण्डले आदेश दियो ताली बजाउनुस् भनेर मिडियामा आफ्नो अपमान गरिएको उनको भनाइ छ।

महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको दाबी गर्दै उनले भने, ‘त्यसलाई कसैको आदेशमा चल्यो भन्नु ठूलो विडम्बना हो।’ पार्टीलाई क्रान्तिकारी र राष्ट्र र जनताको बृहत्तर हितमा लगाउने संकल्प लिएको पनि दाहालले बताए। उनले भने, ‘मेरो काँधमा निकै काँधमा निकै नै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु।’

अर्को एक प्रसंगमा दाहालले एकथरी शक्ति सत्ताधारी गठबन्धन फुटाउन लागिपरेको आरोप लगाए। उनले सोमबार गठबन्धनको बैठकमा आफूहरुले एकता कायम गर्न निर्माणका बेला लिएको लक्ष्यलाई निरन्तरता दिन गठबन्धनलाई निरन्तरता दिनुपर्ने अडान राखेको जानकारी दिए। 

यसअघि सोमबार बसेको माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निर्विकल्प अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो। प्रचण्डको विकल्पमा कुनै पनि व्यक्तिले दाबी नगरेपछि उनी सर्वसम्मत भएका हुन्। अध्यक्षमा प्रचण्डको नाम नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए। श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो। 

प्रचण्ड २०४६ सालदेखि अटुट रुपमा पार्टीको नेतृत्वमा रहँदै आएका छन्। माओवादीको महाधिवेशनबाट हालै निर्वाचित केन्द्रीय सदस्यहरुको बैठकले प्रचण्डलाई सर्वसम्मत नेतृत्वमा चयन गरेको हो।

 २०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर राजनीतिक जीवन थालेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए। उनी २०३८ मा क्षेत्रिय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए। 

२०४१ मा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको हिंसात्मक विद्रोहको नेतृत्व गरेका थिए। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए।

२०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए। २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए। प्रचण्ड २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट उनी पुनःअध्यक्ष पदमा निर्वाचित भए। 

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका दाहाल संविधान सभाको दोस्रो निर्वाचनमा २०७० मा सिरहा क्षेत्र नं–५ बाट निर्वाचित प्रचण्ड २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी दोस्रापकट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। २०७४ सालको संघीय संसद् सदस्यको निर्वाचनमा प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए। तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा प्रचण्ड अध्यक्ष भएका थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा भंग भई दुवै पार्टी पूर्ववत् अवस्थामा पुगेको थियो। त्यसपछि माओवादी केन्द्रको अध्यक्ष दाहालले रहँदै आएका थिए।

प्रकाशित: Jan 03, 2022| 17:56 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...