काठमाडौं- नेकपा माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प रूपमा चयन भएका छन्। सोमबार बसेको माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निर्विकल्प अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो।
प्रचण्डको विकल्पमा कुनै पनि व्यक्तिले दाबी नगरेपछि उनी सर्वसम्मत भएका हुन्। अध्यक्षमा प्रचण्डको नाम नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए। श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो। पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।
बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेकोमा श्रेष्ठले जोड दिएका थिए। जनयुद्धदेखि संविधान निर्माणसम्मको काम सम्पन्न गर्न सफल भूमिका खेलेका प्रचण्डको नेतृत्व नै पार्टीका लागि अहिलेको आवाश्कता भएको श्रेष्ठको भनाइ थियो।
जारी केन्द्रीय कमिटी बैठकले एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष पनि चयन गर्ने छ।