काठमाडौं- नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पनि आफूलाई केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने वैधानिक व्यवस्था गर्न माग गरेका छन्।
सातै प्रदेशका प्रदेश सभापतिहरुले सोमबार केन्द्रीय सभापति शेरबहादुर देउवालाई एक पत्र पठाउँदै केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थितिको वैधानिक व्यवस्था गर्न माग गरेका हुन्।
प्रदेश सभापतिहरुले पठाएको पत्रमा भनिएको छ, 'नेपाली कांग्रेसको विधान अनुसार संघीयताका आधारमा गठन भएको प्रदेश कार्यसमितिका सभापतिहरुलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पाउने वैधानिक व्यवस्था गरी पाउन अनुरोध गर्दछौं।'
त्यसैगरी क्रियाशील सदस्यता शुल्क वापतको रकम, प्रदेश सभाका सदस्यहरुले बुझाउने लेभी प्रदेश कार्यसमितिको खातामा जम्मा हुने प्रक्रिया गराउन पनि उनीहरुले माग गरेका छन्।
पत्रमा थप भनिएको छ, 'नेपाली कांग्रेसको विधानको धारा ६९ बमोजिमको क्रियाशील सदस्यता शुल्क वापत पार्टी कोषमा जम्मा हुने रकम पार्टी नियमावलीको परिच्छेद ७ को धारा २३ को ७ (क) बमोजिमको रकम र प्रदेश सभाका माननीय सदस्यहरुको लेभी शुल्कसमेत नेपाली कांग्रेसको सम्बन्धित प्रदेश संसदीय दललाई निर्देशन गरी सम्बन्धित प्रदेश कार्य समितिको खातामा उपलब्ध गराउने पक्रियाका लागि विनम्र अनुरोध गर्दछौं।'
कांग्रेसले पहिलो पटक आफ्नो प्रदेश संरचना विस्तार गरेको हो। जस अनुसार प्रदेश १ मा उद्धव थापा, प्रदेश २ मा कृष्ण यादव, बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुन, कर्णाली प्रदेशमा ललितजंग शाही र सुदूरपश्चिम प्रदेशमा बीरबहादुर बलायर प्रदेश सभापति छन्।