काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठक ५ मिनेट बसेर सकिएको हो।
बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवारहरू नाम निर्धारण गरेको छ। कांग्रेसको निर्णयअनुसार प्रदेश १ मा गोपाल बस्नेतलाई उम्मेदवार बनाइने भएको छ। यस्तै बागमतीमा कृष्णप्रसाद पौडेल उम्मेदवार बन्ने भएका छन्।
कमला पन्तलाई गण्डकीबाट उम्मेदवार बनाइनेछ भने युवराज शर्मा लुम्बिनीबाट उम्मेदवार बन्नेछन्। यस्तै, दुर्गा गुरुङ कर्णालीबाट उम्मेदवार बन्नेछन् भने नारायणदत्त मिश्र सुदुरपश्चिमबाट उम्मेदवार बन्ने भएका हुन्।
मिश्र सुदुरपश्चिम प्रदेशमा सभापतिका लागि भएको निर्वाचनमा हारेका नेता हुन्। कमला पन्त सहमहामन्त्रीमा पराजित हुन् भने कृष्णप्रसाद पाैडेल कांग्रेस कार्यालयका मुख्यसचिव हुन्।
लामो समय पार्टीमा योगदान गरेकालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए। 'पार्टीमा लामो समयदेखि योगदान गरेकाहरूलाई उम्मेदवार बनाइएको छ। योग्य उम्मेदवारहरूलाई छानेका छौँ र अनुभवीलाई प्राथमिकता दिइएको छ,' बैठकपछि केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने।
यसअघि नै १९ सिटका लागि हुने राष्ट्रियसभाका निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा मिलिसकेको छ। सहमति अनुसार यसअघि चुनाव जितेका सिटमा सम्बन्धित दललाई नै प्रदान गर्ने सहमति भएको छ। बाँकी सिटमा भने नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ।
यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन्। उनका अनुसार ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको हो।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार जना, नेकपा एकीकृत समाजवादीबाट चार जना, कांग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन्।
राष्ट्रपतिबाट मनोनीत हुने एक सिटबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।