काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
एक नेताकाअनुसार बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन लगायत विषयमा निर्णय गर्नेछ। १४ औँ महाधिवेशनपछि कार्यगत हिसावले सोमबार पहिलो बैठक बस्न लागेको हो ।
यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो। यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित महाधिवेशनमा छुटेका नेताहरू समेत बैठकमा सहभागी हुनेछन्।
देउवाले पौडेल र सिटौलासहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।