मंगलबार, असार ३०, २०८३

कान्तिपुरको ‘न्युज रुम’मा ‘भुइँचालो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्थापनाको २६ वर्षमा मुलुकको निजी क्षेत्रको पहिलो दैनिक कान्तिपुरमा पाँचौं पटक सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । पाँचौं पटकको परिवर्तनमा कान्तिपुरका तेस्रा सम्पादक नारायण वाग्ले प्रधानसम्पादकका रूपमा दोहोरिएका छन् । 

ठ्याक्कै १० वर्षअघि कान्तिपुर पब्लिकेसन्समा ठूलो भूकम्प गएको थियो। करिब १६ वर्ष साझेदार रहेका हेमराज ज्ञवाली र उनका पुत्र विनोदराज ज्ञवालीले आफ्नो सेयर लिएर बाहिरिँदै गर्दा पब्लिकेसन्सको भविष्यमाथि नै संशय पैदा नभएको होइन । ज्ञवालीसँगै कान्तिपुर र दी काठमाडौं पोस्टका सम्पादकद्वय वाग्ले र प्रतीक प्रधान ठूलै सम्पादकीय टोलीसहित बाहिरिएका थिए। 

त्यतिबेलासम्म नेपाल म्यागेजिनको सम्पादक रहेका सुधीर शर्मा नारायण वाग्लेको उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व सम्हाल्न पुगेका थिए। अहिले उनै वाग्लेलाई सम्पादकीय कक्षमा स्वागत गरेर शर्मा बाहिरिएका छन् । शर्मा प्रधानसम्पादक रहेको नेपाल म्यागेजिनमा पनि वाग्लेलाई नै प्रधानसम्पादकको जिम्मेवारी दिइएको छ। 

२०६५ सालमा क्याप्टेन रामेश्वर थापा पनि केही सेयरसाथ कान्तिपुर पब्लिेकेसन्स प्रवेश गरेका थिए । उनी लामो समय त्यहाँ टिकेनन् र आफ्नो सेयरसहित ०६९ सालमा अलग भए। 

सम्पादकबाट प्रधानसम्पादक बढुवा भएका शर्माले भने सम्पादकीय नेतृत्वलाई कुशलतापूर्वक अगाडि बढाए । लामो समयदेखि बढुवा रोकिएकोलगायत असन्तुष्टी जनाउँदै ‘न्युज रुम’बाट पत्रकारहरू बाहिरिँदै गर्दा पनि शर्माले त्यसको असर पर्न दिएनन्। वर्षदिन अघिदेखि व्यवस्थापनसँग उतारचढावपूर्ण सम्बन्धमा रहँदै आएका शर्माले अन्ततः दी काठमाडौं पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायसहित पब्लिकेसन्सबाट बाहिरिने निर्णय लिए । उपाध्यायको ठाउँमा अजयभद्र खनाल दी काठमान्डु पोस्टको प्रधानसम्पादक बनेका छन्। 

कान्तिपुरको सम्पादकका रूपमा शर्माको चुनौतीपूर्ण थियो । यसबीचमा नेपाली राजनीति संक्रमणबाट गुज्रियो । माओवादी लडाकुको व्यवस्थापन, संविधानसभा निर्वाचन, सरकार बन्ने र भत्किने शृंखला, संविधान निर्माण, संघीय शासन व्यवस्थाअन्तर्गत् तीन तहका निर्वाचन र स्थायी सरकार । कान्तिपुरको ‘न्युज रुम’ पनि राजनीतिक विषयवस्तुबाट ‘डोमिनेटेड’ देखियो, १० वर्षमा । 

२०६५ सालमा पहिलो संविधानसभा निर्वाचनमार्फत् तत्कालीन माओवादी ठूलो दल बनेलगत्तै कान्तिपुरको व्यवस्थापन र सम्पादकीय नेतृत्व फेरबदल भएको थियो । संयोगवस, त्यसको १० वर्षपछि कान्तिपुरकै व्यवस्थापन र सम्पादकीय नेतृत्व परिवर्तन हुँदा पनि नवगठित नेपाल कम्युनिस्ट पार्टी दुई तिहाइको प्रचण्ड बहुमतका साथ सत्तामा पुगेको छ । 

र, रजनिश रिखी नामक भारतीय नागरिक कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकका रूपमा प्रवेश गरेका छन् । स्रोतका अनुसार उनलाई कान्तिपुर व्यवस्थापनले वार्षिक दुई सय करोड (दुई अर्ब) ‘रेभेन्यु’ संकलन गर्नुपर्ने ‘टार्गेट’ दिएको छ । 

२०६५ सालमा कान्तिपुरबाट बाहिरिएको केही समयपछि नै ज्ञवाली नेतृत्वमा नागरिक र रिपब्लिका दैनिक बजारमा आए । नागरिकको प्रधानसम्पादक बने वाग्ले । र, रिपब्लिकाको नेतृत्व दी काठमाडौं पोस्टबाट बाहिरिएका प्रधानले लिए । 

केही समयपछि वाग्ले नागरिकको न्युज रुमबाट बाहिरिए र सेतोपाटी डट कममा आबद्ध भए । वाग्लेको उत्तराधिकारीका रूपमा प्रधान नागरिक दैनिकको प्रधानसम्पादक बने । जिम्मेवारीबाट अलग भएपछि अहिले बाह्रखरी डट कम सञ्चालन गरेर बसेका छन् । 

भारतीय नागरिक श्याम गोयन्काले ७ फागुन ०४९ मा सञ्चालनमा ल्याएका हुन्, कान्तिपुर पब्लिकेसन्स । त्यसको दुई वर्षपछि हेमराज÷विनोदराज ज्ञवाली र कैलाश सिरोहियाले पब्लिकेसन्स खरिद गरे । थापाथलीको साँघुरो कार्यालय हुँदै शान्तिनगर र त्यहाँबाट तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्ससम्म पुगेको उक्त पब्लिकेसन्सको यात्रा उतारचढावपूर्ण नै देखिन्छ । 

१२ वैशाख ०७२ को विनासकारी भूकम्पबाट भवन भत्किएपछि जडीबुटीस्थित प्रेस र तीनकुनेकै एक भवन हुँदै अहिले थापाथलीमै पुगेको छ, कान्तिपुर पब्लिकेसन्स । 

निजी क्षेत्रबाट पनि नेपाली पत्रकारिताको नेतृत्व गर्न सकिने आत्मबल दिएको कान्तिपुर पब्लिकेसन्सले नै हो । सोही पब्लिकेसन्सबाट उत्पादित थुप्रै पत्रकारहरू अहिले निजी क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आबद्ध छन् । तीमध्ये कतिपय सम्पादकीय नेतृत्वमै छन् । 

प्रधानसम्पादकद्वय शर्मा र उपाध्यायसहित कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि राजिनामा दिएका छन् । शर्मा सम्पादक बनेपछि लामो समय समाचार सम्पादक रहेका थापा उनकै सिफारिसमा गत फागुनमा सम्पादकमा बढुवा भएका थिए । उनी स्थापनाकालदेखि नै कान्तिपुरमा कार्यरत थिए । 

शर्माले छाडेपछि थापा कान्तिपुरको प्रधानसम्पादकको स्वाभाविकै उम्मेदवार थिए। एकाएक वाग्लेलाई व्यवस्थापनले प्रधानसम्पादकको जिम्मेवारी दिएपछि थापाले निराश हुँदै २६ वर्ष लामो पब्लिकेसन्ससँगको सहयात्राबाट अलग हुने निर्णय लिएका छन्। शर्माको नेतृत्वमा थापाले १० वर्षसम्म ‘न्युज रुम’को व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।