इटहरी- सुनसरीको दुहबीस्थित राधाकृष्ण मन्दिरको १४ कठ्ठा एक धुर सार्वजनिक जग्गा व्यवस्थापन समिति र भूमाफिया मिलेर कौडीको भाउमा बिक्री गरेको आरोप लागेको छ ।
साविक सोनापुर-२ (हाल दुहबी-८)स्थित राधाकृष्ण मन्दिरको जग्गा सरकारी र चलनचल्तीको रेटभन्दा सस्तोमा बेचेपछि आलोचना भएको छ । एक चप्पल उद्योगभित्र रहेको १३ नम्बर कित्ताको उक्त जग्गा राजमार्गमै पर्छ ।
त्यस इलाकाको सरकारी रेट प्रतिकठ्ठा आठ लाख रुपैयाँ छ भने चलनचल्तीमा प्रतिकठ्ठा १५ लाख रुपैयाँभन्दा बढी पर्छ । महँगो जग्गा सुटुक्क भूमाफियालाई बिक्री गरिएको स्थानीय बलभद्र ऋषिदेवले बताए । अरू स्थानीय बासिन्दा पनि मन्दिर व्यवस्थापन समितिसँग रुष्ट छन् ।
प्रतिकठ्ठा १५ लाखका दरले दुई करोड १० लाख रुपैयाँ पर्ने जग्गा ५४ लाख ३५ हजार पाँच सय ५० रुपैयाँमा स्थानीय जग्गा कारोबारी गोविन्दबहादुर बजगाईंलाई बिक्री गरिएको छ ।
दुहबीको राधाकृष्ण मन्दिर धनी धार्मिक स्थल मानिन्छ । हरेक वर्ष बिहेको सिजन र अन्य धार्मिक कार्यबाट उक्त मन्दिरले राम्रो आम्दानी गर्छ । मन्दिरको सजावटबाट पनि त्यो कुरा पुष्टि हुन्छ ।
मन्दिरका नाममा विभिन्न व्यक्तिले जग्गादान गरेका थिए । दान गरिएकै जग्गा व्यवस्थापन समितिका अध्यक्ष हिमालय मानन्धर, सचिव रामप्रसाद राई र जग्गा व्यवसायी बजगाईंबीच मिलेमतोमा खरिद-बिक्रीको निर्णय भएको हो ।
त्यसका लागि मन्दिर व्यवस्थापन समितिको बैठक ४ वैशाख ०७५ मा बोलाइयो । र, धर्मशाला निर्माणको नाममा जग्गा बिक्री गर्ने निर्णय गरियो । सोही निर्णय मातपोत र नापीमा लगेर योजनाबद्ध रूपमा जग्गा खरिद-बिक्री भयो ।
प्रतिकठ्ठा १५ लाखका दरले दुई करोड १० लाख रुपैयाँ पर्ने जग्गा ५४ लाख ३५ हजार पाँच सय ५० रुपैयाँमा स्थानीय जग्गा कारोबारीलाई दाताले दिएको जग्गा बिक्री ।
तर, उक्त जग्गामा धर्मशालाका लागि स्थान छुट्याइएको छैन । विराटनगर-धरान सडक विस्तारका क्रममा उक्त जग्गा पनि काटिन्छ । धर्मशाला स्थानीय निकाय र चन्दा संकलनबाट पनि निर्माण गर्न सकिने स्थानीय बासिन्दाको भनाइ छ ।
विभिन्न विकल्प हुँदाहुँदै भूमाफियाको फाइदा र कमिसनको चक्करमा मन्दिरको जग्गा प्लटिङवालालाई बिक्री गरिएको उनीहरू बताउँछन् ।
मन्दिरको जग्गा बिक्रीमा दुहबी नगरपालिकाको पनि सहमति भएको खुलेको छ । आठ नम्बर वडा कार्यालयले १३ असार ०७५ मा बिक्रीका लागि सिफारिस गरेको छ ।
वडा कार्यालयको सिफारिस प्रदेश-१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्णयविपरित छ । मन्त्रालयले मन्दिर र गुठीको जग्गा बेचविखन नगर्न परिपत्र गरेको थियो । मन्त्रालयको निर्देशनको धज्जी उडाउँदै दाताले दिएको जग्गा बिक्री गरिएको छ । यस विषयमा बुझ्न दुहबीका मेयर वेद गच्छदारलाई फोन गर्दा उठाएनन् ।
व्यवस्थापन समिति अध्यक्ष मानन्धर भने मन्दिरको विधानअनुसार जग्गा बिक्री भएको दाबी गर्छन् । भन्छन्, 'मन्दिरको जग्गा बिक्री गर्न पाउने विधान छ, त्यही भएर बिक्री गरेका हौं ।' महँगो जग्गा किन सस्तोमा बेचियो भन्ने प्रश्नमा भने अध्यक्ष मानन्धर सचिव रामप्रसाद राईलाइ दामबारे थाहा हुने बताउँदै पन्छिए । सचिव राईसँग पनि सम्पर्क हुन सकेन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४