धनगढी- कैलालीका द्वन्द्वपीडित महिलालाई स्वरोजगार बनाउनका लागि ५ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको छ। अलर्ट, टिपिओ नेपाल तथा महिला कानुन र समाज कैलालीले कैलारी गाउँपालकिकाका १० जना द्वन्द्वपीडित महिलालाई ती सामग्री वितरण गरेका हुन्।
द्वन्द्वपीडित भई राज्यबाट सहयोग नपाएका तर आवश्यक भएका महिलालाई सामाग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए।
उनका अनुसार पाँच जना महिलालाई बंगुर, एक जनालाई किराना, एक जनालाई होटेलसम्बन्धी, एक जनालाई कस्मेटिक सामग्री, एक जना महिलालाई सिलाई मेसिन र एक जना महिलालाई माछाका भुरा वितरण गरिएको छ।
सहयोग पाउने महिलालाई यसअघि सिप विकास सम्बन्धी तालिम दिइएको र उनीहरूको माग अनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई प्रवर्द्धन गर्न सामाग्री हस्तान्तरण गरिएको हो।
सहयोग सामाग्री पाउने महिलाले अब आत्मनिर्भर हुन सहज हुने बताएका छन्। ‘राज्यकै कारण पीडित भएका हामीलाई राज्यले कहिल्यै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अब स्वरोजगार बन्ने इच्छा पूरा हुने छ।’