जनकपुरधाम- २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर-अयोध्या बस सेवा संयुक्त रुपमा उदघाट्न गरेका थिए।
जानकी मन्दिर परिसरमा दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाउँदै बस सेवाको उदघाट्न गरेपछि जनकपुरवासीबीच व्यापक उत्साह देखिएको थियो, अयोध्या पुग्न सहज हुने सोँचले।
जनकपुर र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध समेत रहेकोले दुईस्थानबीच बस सेवा सञ्चालनमा जोड दिइएको हो। जनकपुर–अयोध्या बस सेवा सञ्चालन पश्चात धार्मिक पर्यटहरुलाई आवत जावत गर्न सहज हुने विश्वास लिइएको थियो।
तर, नेपाल-भारत मैत्री बस सेवा नाम दिई मोदी र ओलीले उद्धघाट्न गरेको जनकपुर-अयोध्या बस सेवाले भने निरन्तरता पाउन सकेको छैन्। उदघाट्न भएको दिन केहि विशिष्ट व्यक्ति तथा सर्वसाधारण लिई एक पटक अयोध्या पुगेको बस दोस्रो पटक भने पुग्न सकेको छैन्।
निरन्तरता पाउन नसकेपछि तामझाम र व्यापक प्रचारबाजीकासाथ उदघाट्न गरिएको जनकपुर-अयोध्या बस सेवा पुनः सञ्चालन हुनेमा स्थानीय सशंकित देखिन थालिएका छन्।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास धार्मिक पर्यटनको हिबासले महत्वपूर्ण रहेको जनकपुर-अयोध्या बस सेवाले निरन्तरता पाउन नसक्नु दुखद रहेको बताए। दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उदघाट्न गरेको बसले निरन्तरता पाउन नसक्नुको कारणका विषयमा आफूलाई जानकारी नरहेको उनको भनाई छ।
यता जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीता झाले नेपाल-भारत मैत्री बससेवा उदघाट्न भएपनि दुई देशबीच सम्झौता हुन नसक्दा निरन्तरता दिन ढिलाई भएको बताइन्।
दुई देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरुबीच तीन दिन अगाडी बस सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको आफूलाई जानकारी प्राप्त भएको झाले जानकारी दिइन्। दुई देशबीचक भाडादर, दुरी, समय लगायतका विषयमा सम्झौता भएको उनको भनाई छ।
'दुई देशबीच बस सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ,'उपप्रमुख झाले भनिन्,'अब बससेवा सञ्चालन हुन्छ ।' जनकपुर-भिठ्ठामोड मार्ग निर्माणको क्रममा रहेकोले पनि बस सञ्चालनमा ढिलाई भएको उनको कथन छ।
उदघाट्न गर्न परराष्ट्र मन्त्रालयले ल्याएको बस चढेर केहि मन्त्रीहरु सहित ३४ जना विशिष्ट व्यक्ति तथा अर्को बसमा सर्वसाधारणहरु अयोध्या पुगेका थिए।
जनकपुरबाट अयोध्या पुगेको बसलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पर्यटनमन्त्री रीता बहुगुनाले स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयले उदघाट्नको लागि ल्याएको बस काठमाण्डौ फिर्ता लगि सकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४