स्याङ्जा- ऐतिहासिक तामेकोट दरबारको विषयमाथि फिल्म निर्माण हुने भएको छ। स्याङ्जाको स्यालबासमा बिहीबारबाट सुरू भएको हात्तीस्थान तामेकोट महोत्सव २०७८ को अवसरमा सिनेमा निर्देशक यादव भट्टराईले ७५० वर्षअघि अस्तित्वमा रहेको तामेकोट राज्यको कथामाथि फिल्म बनाउने घोषणा गरेका हुन्।
तत्कालीन तामेकोट राज्यको दरबार र ऐतिहासिक संरचना गल्याङ नगरपालिकाको स्यालबासमा अहिले अवशेषको रुपमा मात्र छन्। हात्तीस्थान फाउन्डेसनले उक्त दरबारलाई पुनर्निर्माण गर्ने तयारी थालेको छ।
दरबार पुनर्निमाणका परिकल्पनाकार डा शिवशंकर बस्यालको पहलमा सो कार्यको थालनी भएको हो। उनले उक्त दरबारको कथामाथि आधारित 'रानीफाल' नामक उपन्यास पनि लेखेका छन्।
फिल्म 'झोला'का निर्देशक भट्टराईले केही महिनादेखि साढे सात सय वर्षअघि अस्तित्वमा रहेको उक्त राज्यमाथि अध्ययन तथा अनुसन्धान गरिरहेका छन्।
'तामेकोट राज्यमा एकजना विलासी राजा थिए। उनका कारण त्यहाँका प्रजाहरूले निकै दुःख भोग्नुपरेको हुन्छ। त्यसपछि रानीले राजालाई नजरबन्द गरी शासनलाई आफ्नो बागडोरमा लिन्छिन्। त्यसबेला राज्यभित्रको आन्तरिक षड्यन्त्र र बाह्य राज्यको आक्रमणविरुद्ध रानीले बहादुरीपूर्वक लडेर जीवन आहुति दिन्छिन्। यही विषयमाथि सुक्ष्म अध्ययन गरेर फिल्म बनाउँदै छु,' निर्देशक भट्टराईले भने। तीन वर्षभित्रमा दरबार निर्माण हुनेसमेत उनको भनाइ छ। त्यसपछि फिल्मको सुटिङ सुरू गर्ने उनले बताए। 'अहिले अनुसन्धान भइरहेको छ। र दुई वर्षसम्म अध्ययनै गर्नुपर्नेछ,' उनले भने।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेका थिए। मुख्यमन्त्री नेपालीले दरबार पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
'यो निकै राम्रो कार्य हो। अवशेषमा रहेको दरबारलाई ब्युँझाएर सांस्कृतिक सम्पत्तिको संरक्षण गर्ने कुरामा प्रदेश सरकारको साथ र सहयोग छ,' मुख्यमन्त्री नेपालीले भने। आजबाट सुरू भएको तामेकोट महोत्सव १७ गतेसम्म जारी रहनेछ।