काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १३ देखि सुरु गर्ने भनेको कोरोनाविरुद्धको खोप अभियान यतिबेला रोकिएको छ। पुस १३ गतेदेखि २२ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई दिने सरकारको घोषणा थियो। घोषणाअनुसार काठमाडौंसहित विभिन्न ८ वटा जिल्लामा खोप अभियान सञ्चालन गर्ने उद्देश्य थियो। मन्त्रालयले तीन प्रदेशका आठवटा जिल्लामा उक्त उमेर समूहलाई खोप वितरण गर्ने तयारी गरेको थियो।
जसअनुसार बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेलधुरा साथै कर्णाली प्रदेशको सुर्खेतका बालबालिका र किशोरकिशोरीलाई खोप दिइने योजना थियो। काठमाडौं उपत्यकाका स्थानीय तहलाई त विद्यालयमार्फत उक्त उमेर मसूहको तथ्यांक संकलन गर्न र स्वास्थ्यकर्मी परिचालनसमेत गरिएको थियो।
खोप लगाउन आवश्यक सिरिन्ज र खोपसँग मिसाइने तरल पदार्थ डाइलुएन्ट अभाव भएकाले खोप अभियान स्थगित गर्नुपरेको हो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार खोप लगाउन आवश्यक सिरिन्ज र खोपसँग मिसाइने तरल पदार्थ डाइलुएन्ट अभाव भएकाले खोप अभियान स्थगित गर्नुपरेको हो।
कहिले सुरु हुन्छ फाइजर खोप अभियान?
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले अबको १० दिनपछि खोप अभियान सुरु गरिनेब बताए। उनले भने, ‘डिसेम्बर ५ सम्ममा आवश्यक सिरिन्ज आइपुग्छ। तगत्तै खोप अभियान सञ्चालन गर्नेछौं।’
कोल्डचेन तथा भ्याक्सिन व्यवस्थापनका सदस्य तथा स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार ६ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप गत शुक्रबार नेपाल आइपुगगेको हो। सोहीअनुसार मंगलबारदेखि खोप लगाउने योजना थियो। तर त्यसलाई आवश्यक पर्ने घोलक र सिरिन्ज नआउँदा समस्या भएको थियो। घोलक भने बुधबार आइपुगेको छ। सिरिन्ज आइपुग्न अझै ५ दिन लाग्नेछ। थापाका भन्छन्, ‘खोप दिने संस्थाले खोप दिए पनि त्यसलाई आवश्यक पर्ने घोलक र सिरिन्ज नदिँदा यो समस्या आएको हो।’
अनुदानमा आएका खोपमा यस्तो समस्या देखिएको छ। फाइजर खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आएको हो। यसअघि खोपसँगै सिरिन्ज र डाइलुएन्ट पनि ल्याइएको थियो। थापाले भने, ‘६ लाख ६४ हजार ५६० सिरिन्ज पनि आगामी पुस २० गतेसम्ममा आइपुग्छ।’
घोलक फाइजर खोपलाई पातलो बनाउने सोडियम क्लोराइड मिश्रित तरल पदार्थ हो। जुन कोभ्याक्समार्फत आइपुगेको छ। अब कोभ्याक्समार्फत ०.३ एमएलको ६ लाख ६४ हजार ५६० सिरिन्ज आउनेछ।
निर्देशिकाअनुसार फाइजर खोपमा प्रति भाएल (सिसा) १.८ मिलिलिटर ०.९ प्रतिशत सोडियम क्लोराइड भएको डाइलुएन्ट प्रयोग गर्नुपर्छ। यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम गर्ने जनाइएको छ।
हाल सरकारसँग अन्य खोपका लागि प्रयोग हुने ०.५ एमएलको सिरिन्ज मात्र छ। तर उक्त सिरिन्जले फाइजर खोपका लािग काम नगर्ने भएकाले यो समस्या आएको दाहालले बताए।
सिरिन्ज र घोलक आइपुगेपछिको पहिलो चरणमा ८ जिल्लामा र बाँकी १२ जिल्लामा भने दोस्रो चरणमा फाइजर खोप दिने तयारी छ।
सरकारले पहिलो चरणमा विभिन्न २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन गरेको थियो। सोअनुरुप ५० हजार किशोरकिशोरी तथा दीर्घरोगीले फाइजर खोपको दुवै मात्रा लगाइसकेका छन्। बाँकी बालबालिकाका लागि भने सरकारले मोर्डना खोप अभियान सञ्चालन गरिरहेको छ। सिरिन्ज र घोलक आइपुगेपछिको पहिलो चरणमा ८ जिल्लामा र बाँकी १२ जिल्लामा भने दोस्रो चरणमा फाइजर खोप दिने तयारी छ।
मोडर्ना खोप अभियान के हुँदैछ?
सरकारले पुस सुरुदेखि नै फाइजर खोप नलगाएका ५७ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ। कोभिडविरुद्धको मोडर्ना खोप बालबालिका र किशोरकिशोरीलाई दिइरहेको छ। खोप शाखाका प्रमुख सागर दाहालका अनुसार हाल केही जिल्लामा खोप वितरण सकिए पनि केही जिल्लामा जारी छ। मोडर्ना खोप लगाएको ठिक एक महिनामा दोस्रो मात्रा दिइनछ। अर्थात् माघ ४ गतेदेखि १३ गतेसम्ममा मोडर्नाको दोस्रो मात्रा खोप वितरण हुन्छ। शाखाका अनुसार कुल १८ लाख ५० हजार मोडर्ना खोप देशभरिका केन्द्रहरूमा पठाइएको थियो। कतिले लगाए भन्ने विवरण प्राप्त भइनककेको दाहालले बताए।
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष हुन लागेको छ। यस अवधिमा कुल ३ करोड ९२ लाख, ३ हजार ९२७ डोज कोरोनाविरुद्धको खोप प्राप्त भएको छ।
मन्त्रालयका अनुसार कुल जनसंख्याको ५१.७ प्रतिशले पूर्णमात्रामा कोभिड खोप लगाइसकेका छन् भने ७० प्रतिशतले पहिलो मात्रा खोप लागएका छन्।