काठमाडौं- वर्षा र हिमपातका भएसँगै देशभर चिसो बढेको छ। बुधबार देशका धेरै ठाउँमा पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै देशैभर चिसो बढेको हो।
आजदेखि भने क्रमिक काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसममा क्रमित सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ।
आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
काठमाण्डौको अधिकतम तापक्रम बुधबार एकैदिन सात डिग्री सेल्सियसले घटेको थियो। बुधबार काठमाडौंको अधिकतम तापक्रम ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो। मंगलबार भने काठमाडौंको अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो।