काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनवाइ प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीविरुद्ध उजुरी दिन आव्हान गर्दै सुनवाइ पक्रिया थालेको हो ।
समितिले शुक्रबार (आज) देखि ६ साउनसम्म उजुरी दिन सर्वसाधारण र सरोकारवालासँग आग्रह गरेको छ । जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नुपर्ने आधार र कारणसहितको उजुरी समितिमा दर्ता हुनेछ ।
समितिले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सकिने जनाएको छ । टेलिफोनमार्फत् उजुरी टिपाउन र इमेलमा समेत पठाउन सकिने समितिले जनाएको छ ।
समितिले उजुरीको समय सकिएपछि उजुरीको अध्ययन गरी आवाश्यकताअनुरूप उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँको परामर्शपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गरिनेछ ।
समितिले सुनवाइपछि नाम स्वीकृत गरेमा जोशी प्रधानन्यायाधीशमा नियुक्ति हुनेछन् । संवैधानिक परिषद्ले जोशीको नाम २९ जेठमा सिफारिस गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४