हङकङ- प्रजातन्त्रको पक्षमा आवास उठाउँदै एक सञ्चारगृह स्ट्यान्ड न्युजलाई हङकङ प्रहरीले बन्द गराएको छ। प्रहरीले उक्त सञ्चारगृहका वरिष्ठ अधिकारीहरूलाई गिरफ्तारसमेत गरेको छ।
सञ्चारगृहमा काम गर्दै आएका र पूर्व कर्मचारी गरी ७ जनालाई गिरफ्तार गरिएको बीबीसीले उल्लेख गरेको छ। राज्यमाथि षड्यन्त्र गरेकाले स्ट्यान्ड न्युज बन्द गर्नुपरेको र त्यहाँका वरिष्ठ कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
प्रहरीले मिडियामाथि आक्रमण गरी वरिष्ठ कर्मचारीलाई गिरफ्तार गरेपछि प्रकाशन बन्द गरिएको छ,' स्ट्यान्ड न्युजको फेसबुक पेजमा लेखिएको छ।
उक्त मिडिया बन्द गराउन र कर्मचारीलाई पक्राउ गर्न हङकङ सरकारले २ सयभन्दा बढी प्रहरी पठाएको थियो। स्ट्यान्ड न्युजले केही दिनमा नै सामाजिक सञ्जालबाट समेत आफ्ना सामग्री हटाउने उल्लेख गरेको छ। उता हङकङ प्रहरीले भने स्ट्यान्ड न्युजले प्रकाशन गरेका समाग्री आफैँ नहटाए बन्द गराउन आफूहरूलाई अधिकार भएको दाबी गरेको छ।
'आज बिहान प्रहरीले कम्पनीका थुप्रै वरिष्ठ कर्मचारीलाई गिरफ्तार गरेको छ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उनीहरूले अनुसन्धानलाई सहयोग गर्न भन्दै थुप्रै व्यक्तिलाई लिएर गएका छन्।'
बुधबार दिउँसो प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा हङकङ पुलिसका चिफ सेक्रेटरी जोन लीले राष्ट्रिय सुरक्षामा चुनौती दिने कुनै पनि काममा आफूहरूको शून्य सहनशीलता रेहको उल्लेख गरेका थिए। 'राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने गरी राज्यको कानुन उल्लंघन गर्ने वा त्यस्तो राजनीतिक प्रयोजन पूर्ति हुने गरी काम गर्न मिडियालाई प्रयोग गर्न दिइन्नँ,' उनले भने, 'ती खराब तत्त्व हुन्। तिनीहरूले प्रेस स्वतन्त्रता ध्वस्त पार्छन्।'
हङकङले पछिल्लो समय प्रजातन्त्रका पक्षधर मिडिया नियन्त्रण गर्ने नीति अपनाएको छ। गत जुलाईमा पनि हङकङले 'एप्पल डेल्ली'लाई बन्द गराएको थियो।