काठमाडौं– प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ।
काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुवाँलो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ। मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।
उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ। बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ट भएको थियो। अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ। मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ। बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।
उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ।