काठमाडौं- जापानी राजदुत मासामिचिले नेपालमा अर्गानिक खेती र प्राविधिक ज्ञान दिन तयार रहेको बताए। उनले बिहीबार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग भएको भेट वार्तामा नेपालसँग अर्गानिक खेती, प्रविधिको ज्ञान र शिप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताए।
सोही अवसरमा मन्त्री खनालले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्नका लागि जोड दिएका थिए साथै उनले कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खलामा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा सहयोग गर्नुपर्ने आग्रह गरेका थिए।
त्यस्तै सोही दिन मन्त्री खनाल र जर्मन राजदुत रोलान्ड शेफरसँग पनि भेटवार्ता भएको थियो। उनले जर्मन राजदुतसँगको भेटमा धेरै लामो समयदेखि जर्मन सरकारसँग नेपालको मित्रतापूर्ण सम्बन्ध रहेको उल्लेख गरेका थिए। ‘भविष्यमा पनि उक्त सम्बन्ध थप मजबुत हुनेछ,’उनले भने ‘पोष्ट हार्भेष्टिङ, प्रशोधन, भण्डारण तथा कृषि सडक सञ्चालमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा गरेका छौं।’
राजदुत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा सहभागिताको लागि मन्त्रीलाई निमन्त्रण समेत गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४