काठमाडौं– वर्षायाममा आकाशबाट पानी बर्सिंदा गर्दा रुकुमकी मीनाका आँखा पनि बर्सिरहेका थिए। भर्खरै बनाएको घरले आकाशको पानीलाई थेगे पनि आफ्नै आँखाका बलिन्द्र धारालाई उनले रोक्न सकेकी थिइनन्। सन्तान बेहोस भएर आफ्नै अगाडि जीवनमृत्युको दोसाँधमा छटपटिरहँदा मीनाले आफैलाई सम्हाल्न सकिरहेकी थिइनन्। छोरा गणेश होसमा आउलान् र 'आमा..!' भनेर बोलाउलान् भन्ने मीनाको आस जीवितै थियो।
पाँच वर्षअघिसम्म मीनाको जिन्दगी ठिकठाकै चल्दै थियो रुकुम पश्चिम आठबीसकोटको एउटा गाउँमा। गाउँमा सडक थिएन, बिजुली पुगेको थिएन, तैपनि मीनाको घर उज्यालो थियो। भर्खर बनाएको नयाँ घरले उनीहरुको दुःख बिर्साएको थियो।
तर, जीवनमा कतिबेला तुषारापात हुन्छ भन्ने के थाहा! भर्खरै फुल्दै गरेको मीनाको परिवारको खुसीको फूलमाथि तुषारो पर्यो। २०७२ साल फागुनदेखि कान्छा छोरा गणेश बिरामी हुन थाले। त्यसपछि सुरु भयो धामीकहाँ धाउने क्रम। मीनाले चार महिनासम्म ४ वटा बोका र २२ वटा कुखुरा चढाइन् तर छोरालाई २० को १९ हुन सकेन। ‘हाम्रो गाउँमा अझै पनि धामीझाँक्री मान्ने चलन छ, छोरालाई निको होला बोका र कुखुरा चढाएँ तर निको भएन,’ मीनाले सुनाइन्।
कखरासमेत चिन्न नसक्ने मीनालाई कहिले छोरा बिरामी भयो, कहिले काठमाडौं आएँ भन्ने हेक्का छैन। यत्ति थाहा छ– छोरा बिरामी पर्न थालेको गत वर्ष फागुनमा पाँच वर्ष पूरा भयो। चार महिना त गणेश छटपटाउँदै घरमै बसे। गाउँका मानिसले बोक्सी लाग्यो भनेका थिए, त्यसैका लागि मीनाले झारफुक गरिरहिन्।
२०७२ फागुनदेखि गणेशलाई बेथाले च्याप्दै गयो। के भयो, किन भयो उनीहरुले केही बुझ्नै सकेनन्। मीनाका पति प्रेम घर बनाउँदा लागेको ऋण तिर्न भारत पुगिसकेका थिए। श्रीमान् साथमा नहुँदा छोरालाई के गर्ने, कसो गर्ने उनले केही मेसो पाउन सकेकी थिइनन्। छोराको अनुहार सुन्निन थालेको थियो। पखाला चल्ने, बान्ता हुने, पेट दुख्ने समस्या बढ्दै गयो तर पनि मीनाले केही गर्न सकिनन्।
जीवनमा कतिबेला तुषारापात हुन्छ भन्ने के थाहा! भर्खरै फुल्दै गरेको मीनाको परिवारको खुसीको फूलमाथि तुषारो पर्यो।
बिस्तारै गणेशलाई खाना, पानी पनि पच्न छोड्यो। मुख बांगो भएर कान नजिक पुगिसकेको थियो, हातखुट्टा सुन्निन थालेको थियो। रातभर छोरा छटपटिन्थ्यो, मीना झमझम पानीमा झाँक्री खोज्न दौडिन्थिन्। दिनदिनै झाँक्रीले फुक्थे तर छोरालाई निको हुनुको साटो झनै च्याप्दै गयो। उपचारका लागि अस्पताल लैजाने कोही भएन। पाँच महिना (फागुनदेखि असारसम्म) अस्पतालको मुख नदेखी धामीझाँक्रीको सहारामा बसे।
२०७३ असार ७ गते।रातको दोस्रो प्रहर बितिसकेको थियो। गणेश छटपटिन थाले र एक्कासि ढले। मीनाले गणेशलाई उठाउन खोजिन् तर सकिनन्। उनलाई लाग्यो– मैले छोरा गुमाएँ। छोराको छातीमा कान टाँसेर धड्कन सुन्ने प्रयास गरिरहिन्, तर सास फेरेको जस्तो लागेन।
मीनाको घर एकान्तमा थियो। छिमेकीका घर टाढा थिए। बाहिर झमझम पानी परेको थियो, बोलाएको गाउँलेले सुन्दैनथे। मीनाले बोलाइरहिन् तर कसैले सुनेनन्। छोरालाई छोडेर गाउँलेलाई गुहार्न जान पनि सकिनन्।
‘छोरा च्यापेर उज्यालो हुने आशामा पर्खिरहें। त्यो रात त कति लामो! उज्यालो हुन पनि पाँच वर्ष लागेजस्तो,’ लामो सास फेर्छिन् मीना। झन्डै साढे दुई घण्टापछि छोराको ढुकढुकीको चाल पाइन् मीनाले। संसारकै सबैभन्दा ठुलो युद्ध जितेको महसुस भयो। त्यसपछि छिमेकीलाई गुहार गर्न पुगिन्। मीनाका नन्दको श्रीमान् (ज्वाइँ)ले गणेशलाई नेपालगञ्ज पुर्याइदिए। घरमा गाईगोरु, भैंसी, कुखुरा, बाख्रा भएकाले आमा भने जान पाइनन्। शरीर घरमा भयो, मन भने छोरातिरै।
मीना त्यतिबेला मात्र धामीझाँक्रीको मोहबाट ब्युँझिइन्, जतिबेला नेपालगञ्ज मेडिकल कलेजले भन्यो– गणेशका दुइटै मिर्गौलाले काम गर्न छाडेको छ। त्यतिबेलासम्म उनलाई थाहा थिएन– मिर्गौला भनेको के हो, कहाँ हुन्छ र त्यसले के काम गर्छ। नेपालगञ्जबाट तत्काल काठमाडौंंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइयो गणेशलाई। छोरालाई काठमाडौं पठाएको २५ औं दिनमा आमा पनि काठमाडौं आइन्। भारतबाट बुबा पनि आइपुगे।
शिक्षण अस्पतालमा गणेशलाई २४ दिन भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा राख्दा ५ लाख रुपैयाँभन्दा बढी सकिएको उनले सुनाइन्। एकातिर छोरा नबाँच्ला भन्ने चिन्ता अर्कोतिर ऋणको भार। गाउँको घरजग्गा बिक्री हुँदैन, जग्गा राखेर ऋण पनि नपाइने। पहिले स्वर्गजस्तै लाग्ने घरले पनि कुनै सहारा नदिएपछि मीनालाई त्यो घरमा जानै मन लाग्दैन। घर जाने–आउने खर्चले छोराको उपचारमा सहयोग हुन्छ भनेर पनि उनी रुकुम जाँदिनन्।
मीना त्यतिबेला मात्र धामीझाँक्रीको मोहबाट ब्युँझिइन्, जतिबेला नेपालगञ्ज मेडिकल कलेजले भन्यो– गणेशका दुइटै मिर्गौलाले काम गर्न छाडेको छ।
मीना र उनको परिवार पाँच वर्षदेखि वनस्थलीस्थित मिर्गाैला उपचार केन्द्र पछाडिको एउटा सानो बस्तीमा बस्छन्। त्यहाँ उनको जस्तै समस्या भएका अन्य ११ परिवार छन्। श्रीमान् दैनिक ज्यालादारी गरेर केही कमाउँछन्। मीना छोराको स्याहारमा हुन्छिन्। गणेश अहिले १७ वर्षका भए। आमासँग बाहेक अरुसँग धेरै बोल्दैनन्। अस्पताल जाने समयबाहेक मोबाइलमा गेम खेल्छन्, युट्युबमा भिडियो हेर्छन्।
‘भेन्टिलेटरमा राखेको मान्छे बाँच्दैन, धरै खर्च नगर’ पनि भने कतिपयले। बाउआमाको मनले कहाँ मान्छ र! गाउँमा अरुको कुरा सुनेर झारफुकतिर लागेकी मीना गल्ती गर्नेवाला छैनन्। अभावले भने उनलाई आफ्नै जीवन बिझाउन थालेको छ। ऋण दिने सकिए, आफन्त भेट्न आउन छोडे। कहिलेकाहीँ मरौं भन्ने सोच पनि आउँछ तर छोराको माया र पतिको साथले उनलाई जीवनदेखि हार खान दिएको छैन।
दुवै मिर्गौला फेल भएका गणेशको हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ। अर्थात् हप्ताको तीन पटक मेसिनले रगत सफा गर्नुपर्छ। डाक्टरले ‘छोरालाई हप्ताको तीन पटक अस्पताल लैजानुपर्छ, त्यसकारण अब तपाईंहरु काठमाडौंमै बस्नुपर्छ’ भन्दा मीनाको होसहवास उडेको थियो। एक्लै बरबराउन थालिन्। पति प्रेमले वनस्थलीस्थित मिर्गौला उपचार केन्द्र पछाडिको बस्तीमा लिएर गए छोरा र श्रीमतीलाई। एउटा साँघुरो कोठा छ, त्यसको पनि महँगो भाडा। सानो कोठामा जसोतसो आफूलाई अटाएका छन्, तर ऋणले उकुसमुकुस भएको जिन्दगीलाई थेग्न गाह्रो भइरहेछ।
आफ्नै वरिपरि उस्तै समस्या भएका मानिस देख्दा भने हिम्मत बढेको छ। पछिल्लो पाँच वर्षयता हप्ताको तीन दिन अस्पताल जाने र छोराको रेखदेखमै बितेको छ मीनाको समय। डायलासिसको विकल्प मिर्गौला प्रत्यारोपण हो। तर दैनिक हजार–बाह्र सय कमाएर कहिले प्रत्यारोपणका लागि खर्च जुटाउनु? जेठो छोरा पढ्दैछ, कमाउने बेला भएको छैन, पतिको कमाइले खान–बस्न र डायलासिसकै लागि धौधौ हुन्छ। सरकारले मेसिन त निःशुल्क उपलब्ध गराएको छ तर, आवश्यक औषधि र अन्य सामान आफैं किन्नुपर्छ। प्रत्यारोपणका लागि १५ लाखभन्दा बढी खर्च लाग्छ भनेर अस्पतालले पाँच वर्षअघि नै भनेको थियो।
‘भेन्टिलेटरमा राखेको मान्छे बाँच्दैन, धरै खर्च नगर’ पनि भने कतिपयले। तर बाउआमाको मन कहाँ मान्छ र! गाउँमा अरुको कुरा सुनेर झारफुकतिर लागेकी मीना गल्ती गर्नेवाला छैनन्।
मिर्गौला प्रत्यारोपणका लागि सरकारले पाँच लाख रुपैयाँ दिन्छ भन्ने थाहा पाउँदा मीनाको परिवार खुसी भएको थियो। ऋण गरेर भए पनि छोराको मिर्गाैला फेर्ने योजना उनीहरुले बनाए। मीनाले आफ्नै मिर्गाैला दिने भएकी थिइन्। योजनाअनुसार गत असारमा नै प्रत्यारोपण भइसक्नुपर्ने थियो। दुःखको कुरा! आमाको मिर्गाैलामा पत्थरी देखिएपछि त्यो बेला प्रत्यारोपण गर्न पाइएन।
गणेशलाई फेरि उही स्कुल जानु छ, तिनै साथीहरुसँग खेल्नु छ। तिनै पाखापखेरामा बुर्कुसी मार्दै हिँड्नु छ। उनी बेला–बेलामा सोध्छन् बाउआमालाई– मेरो उपचार कहिले हुन्छ? त्यतिबेला मीना र प्रेमसँग कुनै उत्तर हुँदैन। छोराको आँखामा आँखा जुधाउन सक्दैनन्। कहिलेकाहीँ डायलासिसको मापदण्ड पूरा नहुँदा शरीर सुन्निने, टाउको दुख्ने, बान्ता आउने, शरीरका अंगहरु बाँगो हुने समस्या देखिन्छ। त्यतिबेला अस्पताल कुदाउनुपर्छ। त्यसको खर्च यकिन छैन।
मीनालाई अचेल आफन्त आफन्त जस्ता लाग्दैनन्। बरु बस्तीमा भएका ११ परिवार नजिकका भएका छन्। कहिलेकाहीँ पैसा, खानेकुरा ऐंचोपैंचो चल्छ उनीहरूसँगै।
मिर्गौलापीडित यो बस्ती विरक्तलाग्दो छ। मीनाको परिवारले देखेको छ बस्तीबाट निको हुने आशामा नौ जनाले मृत्युवरण गर्नुपरेको। यस्तो कुराले मन आत्तिन्छ, आँट कमजोर हुन्छ। पशुपतिबाट फर्किएको एक महिनासम्म पनि मीना छोराको अनुहारमा हेर्न डराउँछिन्। ठूलो छोरामाथि ठूलो आशा छ। ‘ठूलो छोरा कमाउन जान्छु भनेको छ, भाइको उपचार गर्छु नआत्तिनु भनेको छ, अन्तिम भरोसा त्यही छोरा छ,’ मीनाले सुनाइन्।