काठमाडौं- यातायात व्यवस्था विभाग गुर्जुधाराबाट सोमबार ९ जना बिचौलिया पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा जबरजस्ती गरी अनावश्यक हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको हो।
उक्त सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले शङ्कास्पद नौ जनालाई नियन्त्रण लिई वृत्त थानकोटबाट थप अनुसन्धानका लागि पठाइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ।