काठमाडौं। फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ अमेरिकाको क्यालिफोर्नियामा भएको परोपकारी लिलामीमा ४ करोड डलरमा बिक्री भएको छ। यो रकम कुनै नयाँ कार लिलामीमा बिक्री भएको अहिलेसम्मकै उच्च मूल्य हो।
लिलामीमा बिक्री भएको ‘लुचे’ फेरारीको पहिलो उत्पादन कार रहेको जनाइएको छ। विशेष सजावट, आफूअनुकूल बनाइएका पाटपुर्जा, विशेष पाङ्ग्रा र ब्रेकसहितको सेतो रङको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढीमा बिक्री भएको हो।
कार बिक्रीबाट प्राप्त सम्पूर्ण रकम फेरारी प्रतिष्ठानका शैक्षिक कार्यक्रमका लागि दान गरिने आयोजकले बताएका छन्। कार खरिद गर्ने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।
‘लुचे’को डिजाइन आइफोनका डिजाइनर सर जोनी आइभको अवधारणामा तयार भएको मानिन्छ। गत मेमा सार्वजनिक भएदेखि नै कारले मिश्रित प्रतिक्रिया पाउँदै आएको छ। कतिपयले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको र पाँच सिटको विद्युतीय कार बनाउँदा कम्पनीको पहिचान कमजोर हुन सक्ने आलोचना गरेका थिए।
आलोचकमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी र फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलो पनि थिए। मोन्टेजेमोलोले यसले फेरारीको विरासतलाई जोखिममा पार्न सक्ने बताएका थिए।
फेरारीका मुख्य डिजाइन अधिकारी फ्लाभियो मन्जोनीले भने आलोचना नयाँपनको प्रक्रियाको हिस्सा भएको र समयसँगै मानिसले ‘लुचे’लाई मन पराउने विश्वास व्यक्त गरेका छन्।
लिलामीमा फेरारीका कारले प्रायः उच्च मूल्य हासिल गर्ने गरेका छन्। यद्यपि, सबैभन्दा महँगो कारको लिलामी मूल्यको कीर्तिमान भने सन् १९५५ मा बनेको मर्सिडिज बेन्ज ३०० एसएलआर उलेनहाउट कुपको नाममा छ। उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो।
फेरारीले ‘लुचे’को बिक्री लक्ष्य सार्वजनिक गरेको छैन। पछिल्लो समय चीनमा बलियो माग रहेकाले कम्पनीले यस वर्षको बिक्री लक्ष्य पूरा गरिसकेको फाइनान्सियल टाइम्सले जनाएको छ।