सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–१ का १९ वर्षीय नवीन सुनार, १८ वर्षीय रविन गुरुङ, वीरेन्द्रनगर– ५ का ३८ वर्षीय शेरबहादुर बसेल र वीरेन्द्रनगर ४ का सुरेश नेपालीलाई छन्।
नविन र रविनले दुई हप्ताअघि आफूहरु अलपत्र परेको र आफन्तलाई फोन गर्छु भनेर सर्वसाधारण व्यक्तिको मोवाइल सेट लिएर फरार भएका थिए। पीडितले दिएको निवेदनका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ परेका हो। नविन र र रविनले भे ७ प ३२५२ नम्बरको मोटरसाइकल प्रयोग गरी चोरी गर्दै आएको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।
त्यस्तै शेरबहादुर र सुरेशलाई भने पूजापाठ र घरायसी सामाग्री चोरी संलग्न भेटिएपछि प्रहरीले पक्राउ गरेको हुन्। उनीहरुले वीरेन्द्रनगरका विभिन्न पसलबाट पूजापाठमा प्रयोग हुने कलस, करुवा, घण्ट, गाग्री, बिजुलीका तार, टर्च लाइट, फलामे छड लगायतका सामग्रीहरु चोरी गरेका थिए। चारै जनालाई चोरीका सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।