काठमाडौं- मास्क नलगाउनेबाट ८ लाख १६ हजार जरिवाना संकलन भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा प्रहरीले यो रकम संकलन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा प्रहरीले ४४ लाख ८३ हजार ३ सय जरिवाना गरेको थियो। गत वर्षका तुलनामा यस वर्ष मास्क नलगाउनेलाई गरिएको जरिवना रकम ८१ प्रतिशले घटेको हो।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न प्रहरीले देशभरका विभिन्न स्थानमा मास्क अभियान चलाएको थियो। त्यसपछि भने प्रहरीले मास्क नलगाउनेलाई जरिवाना गर्न थालेको थियो।
उता सुन तस्करी भने नेपालमा 'ह्वात्तै' बढेको देखिएको छ। पाँच महिनामा सुन तस्करी ३४० प्रतिशतले बढेको देखाएको हो।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा प्रहरीले १९ करोड ४२ लाख ३७ हजार ९८७ रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको थियो। यो वर्षको सोही अवधिमा भने प्रहरीले ८५ करोड ६१ लाख ५५ हजार ७९१ रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ।
प्रहरीका अनुसार चाँदीको तस्करी भने ४० प्रतिशतले वृद्धि भएको छ। गत आवको पहिलो ५ महिनामा ४१ लाख १४ हजार ५६२ रुपैयाँको अवैध चाँदी बरामद भएकोमा यो वर्षको सोही अविधमा ५७ लाख ८० हजार ५१५ रुपैयाँ बराबरको अवैध चाँदी प्रहरीले बरामद गरेको हो।
प्रहरीले ५ महिनाको अवधिमा कुल २ अर्ब २० करोड ८२ लाख ६० हजार भन्दा बढी राजस्व आम्दानी हुने गरी अवैध सामग्री बरामद गरेको विवरण सार्वजनिक गरिएको छ। यो गत वर्ष यही अवधिको भन्दा १०६ प्रतिशतले बढी हो। गत आवको पहिलो ५ महिनामा १ अर्ब ६ करोड ८१ लाख २९ हजार बराबरका अवैध सामग्री बरामद भएका थिए।
प्रहरीलाई विनियोजन गरिएको कुल रकमको ५ प्रतिशत रकम बराबर ५ महिनामा नै आपराधिक क्रियाकलाप नियन्त्रणबाट आम्दानी गर्न सकेको समेत प्रहरीको तथ्यांकमा उल्लेख छ। चालु आ.व २०७८/०७९ मा नेपाल प्रहरीलाई चालू र पुँजीगत खर्च गरि एकमुष्ठ ४० अर्ब ७६ करोड १ लाख विनियोजन भएको छ।