बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीबारे एमालेको नीति गैरराजनीतिक, माओवादीमा उत्तराधिकारी तयार गर्नै सकिएन

एमसीसीबारे एमालेको नीति गैरराजनीतिक, माओवादीमा उत्तराधिकारी तयार गर्नै सकिएन

पछिल्ल्लो समय एमसीसी नेपाली राजनीतिमा पेचिलो विषय बनेको छ। एमसीसी यथास्थितिमै पास गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्रै विमति छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– पछिल्ल्लो समय एमसीसी नेपाली राजनीतिमा पेचिलो विषय बनेको छ। एमसीसी यथास्थितिमै पास गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्रै विमति छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस यथास्थितिमै एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी र एकीकृत समाजवादी संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने अडानमा छन्। केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठक एकीकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी  अध्ययन कार्यदल गठन गरेको छ।

यहीबीचमा हिजो आइतबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताए। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले भने, ‘एमसीसी राष्ट्रघाती भनेको हुनाले मैले एउटा कुरा बोल्नै पर्‍यो। राष्ट्रघाती भन्या छ, भन्या छ। पढ्या छ कि छैन थाहा छैन, एससीसी कहाँ छ राष्ट्रघाती? मैले हेर्दा कहीँ राष्ट्रघात देख्या छैन, पहिला पढ्नुपरो नि। म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपालको खिलाफमा किन जाउँला म? किन राष्ट्रघाती काम र सन्धि गरुलाँ म? तपाईंहरू सबै पढ्नुहोस्।’

देउवाले एमसीसी नेपालको हितमा भएको उल्लेख गरे। ‘एमसीसीको अनुदान सित्तैमा आएको पैसा हो। सित्तैमा आएको पैसा चाहिन्न भन्या छ। एमसीसी नेपालको कानुन मान्छु भन्छ तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपरो बुझ्नुपरो क्या मित्र। त्यसकारण यो विषयमा हामी छलफल गरेर अघि बढ्छौँ,’ प्रधानमन्त्री देउवाले भने।  

सोही कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पनि एमसीसी पास गर्न गठबन्धन सकारात्मक भइनसकेको संकेत गरे। देउवाभन्दा पछि बालेका प्रचण्डले देउवाले बोलेको कुरालाई नितान्त व्यक्तिगतको संज्ञा दिए। ‘एमसीसीबारे उहाँले आफ्नो कुरा भन्नुभयो, राष्ट्रघात कहाँ छ देखाउनु भन्नुभयो। प्रधानमन्त्रीको यो महत्वपूर्ण अभिव्यक्ति हो,’ प्रचण्डले भने।

माओवादीको महाधिवेशन अन्तर्गत आजदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा एमसीसीको विषय पनि उल्लेख छ। प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई दोषारोपण गरे। उनले भने, ‘तत्कालको राजनीतिमा एमसीसी आएको छ। एमसीसी के गर्ने भन्ने कुरा भइराखेको छ। जसले सदन अवरुद्ध गर्यो, पटक–पटक विघटन गर्यो, उसले भन्या छ, तिमीहरु गठबन्धन तोड्छौ भने एमसीसी पास गर्दिन्छु। यो सबैले सुनिराखिएको छ। यो कस्तो राजनीति हो? गठबन्धन तोडे चाहिँ पार्टीले पोजिसन बनाउने? पार्टीले त आफ्नो पोजिसन पो पहिला क्लियर गर्ने हो। तिमीहरु फुट्छौ भने म यसो गर्छु, फुट्दैनौ भने त्यसो गर्छु भन्ने?’

गठबन्धन तोड्ने हो भने कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने र त्यसलाई बाहिरबाट समर्थन गर्ने प्रस्ताव एमालेले गरेको प्रचण्डले बताए। भने, ‘अस्तिसम्म हामीलाई आरोप लगाइयो, वामपन्थी भन्नेहरु कांग्रेससँग मिल्न गए भनेर। अहिले कांग्रेसलाई एकलौटी सरकार चलाऊ, हामी एमसीसी पनि पास गर्दिन्छौँ र कांग्रेसलाई एकलौटी सरकार चल्न पनि दिन्छौं भनेपछि के भयो त राजनीति? अस्ति भनेको कुरा र आज भनेको कुरामा कुनै तालमेल छ त? कहीँ पनि तालमेल देखिँदैन। यसमा पनि हाम्रो ध्यान छ।’

केही मान्छेले माओवादी पार्टी र प्रचण्ड नसिद्धिएसम्म देशले सुख पाउँदैन भनेर पनि टिप्पणी गरेको सुनाउँदै प्रचण्डले माओवादीको भूतले तिनीहरुलाई कैयौं दशाब्दीसम्म सताइराख्ने बताए। भने, ‘तिनीहरुले पनि शान्तिसँग सुख पाउलान् जस्तो चाहिँ मलाई लागेको छैन।’

माओवादीको महाधिवेशन अन्तर्गत आजदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा एमसीसीको विषय पनि उल्लेख छ।

एमसीसीबारे धारणा राख्दै प्रचण्डले थपे, ‘नेपालको आर्थिक विकासको निम्ति, पूर्वाधार विकासको निम्ति मित्र देशहरुले दिएको सहयोग हामीले नलिने भन्ने कहीँ कतै छैन। हामीले सहयोग लिँदै आएकै हौँ, लिन्छौँ। तर, एमसीसीको विषयमा केही प्रश्न उठ्यो। त्यो पनि ओरिजिनल सहमति र पछि केपी ओली प्रधानमन्त्री भएर अर्थमन्त्री युवराज खतिवडा भएका बेलामा जे सम्झौता गरिएछ, त्यसले शंका उत्पन्न गराइदिएको छ।’

गहिरो गरी अध्ययन गर्दा ओरिजिनल सहमतिमै पनि केही विषयहरु अस्पष्ट रहेको उनले तर्क गरे। प्रचण्डले भने, ‘त्यसकारण हामीले हाम्रो पार्टीका तर्फबाट गठबन्धनमा पनि र प्रधानमन्त्रीजीलाई पनि यो विषयमा सर्वदलीय बैठक बसेर पनि छलफल गर्न जरुरी छ, गठबन्धनभित्रै बसेर पनि छलफल गर्न जरुरी छ भन्यौं। मैले त सम्पादकहरुसँग, नागरिक समाज, सेलेक्टिभ बुद्धिजीवीहरुसँग र प्रमुख नेताहरुसँग पनि बसेर छलफल गर्न जरुरी छ भनेको छु। प्रधानमन्त्रीजीले सर्वदलीय बैठक बोलाउनु पनि भयो। मैले नै प्रधानमन्त्रीजीलाई यो विषयमा अलिकति स्पष्ट नपारीकन, सबै पार्टीहरुका बीचमा एउटा सहमति नबनाईकन र सम्भव हुनेसम्म परिमार्जन र संशोधन नगरीकन जबर्जस्ती गर्नु हुँदैन भनेको छु। त्यसो गरेर केही फाइदा छैन देशलाई पनि र जनतालाई पनि।’

झलनाथ खनाल संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनले निकास दिने प्रचण्डले विश्वास व्यक्त गरे। ‘त्यो कुराको समाधान सकारात्मक होस् भन्ने हाम्रो चाहना छ। नकारात्मक होस् भन्ने त होइन तर, क्लियर त हुनुपर्यो। जनतामा पनि भरोसा हुनपर्यो ठीकै छ भन्ने। त्यो नआईकन जबरजस्ती गर्न हुँदैन भन्ने हो हाम्रो लाइन,’ उनले भने।

'एमसीसीका कारण गठबन्धन टुट्दैन'

एमसीसीकै कारण सत्ता गठबन्धन नटुट्ने पनि प्रचण्डले दोहोर्याए। ‘एमसीसीकै कारण गठबन्धन टुट्छ कि भनेर एकथरि लागिपरेका छन्, गठबन्धन त टुटाउन खोजेकै छन्। तर, हाम्रो विश्वास के छ भने टुट्दैन। एमसीसीको कारणले गठबन्धन टुट्दैन। हामीलाई एमसीसीको बारेमा फाइनलमा पुग्न अझै केही समय लाग्न सक्छ। किनभने प्रमुख प्रतिपक्षीले सदन अवरोध गर्दा पनि गाह्रो छ टेक्निकल रुपमा। त्यहाँ पनि म्यानेज गर्नुपर्ने छ,’ प्रचण्डले भने।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली नआएकोमा पनि प्रचण्डले असन्तुष्टि पोखे। भने, ‘दुर्भाग्य ! विपक्षी नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न। यो त अलि अति नै भयोजस्तो हामीलाई लागेको छ। एकपटक हैन, दुईपटक हैन, पटक–पटक प्रधानमन्त्रीले बैठक बोलाउने सर्वदलीय, तर विपक्षी नआउने। मैले एकचोटि प्रधानमन्त्रीजीलाई भनें, प्रधानमन्त्रीज्यू उहाँ आउनुहुन्न, उहाँ व्यस्तै हुनुहुन्छ होला। तपाईं र म नै बालकोट जाऔं र यो सदन पनि यसरी रोकिदिन भएन भनौं र अरु विषयहरु पनि हल गरौं भन्या छु मैले। उहाँले महाधिवेशन पछि जउाँला भन्नुभएको थियो, उहाँको महाधिवेशन सकिएको छ। अब हाम्रो पनि सकिन्छ र जरुरी पर्यो भने हामीले त्यतिसम्म पनि सोचिराखेका छौँ। यी विषयहरुमा हाम्रो राष्ट्रिय सम्मेलनको ध्यान छ।’

‘अब म नभए पनि माओवादी सकिँदैन’

अध्यक्ष प्रचण्डले अहिलेको संविधान बन्नुअघि आफूले डा. बाबुराम भट्टराईलाई माओवादीको अध्यक्ष बन्न प्रस्ताव गरेको पनि खुलाए। भने, ‘एकचोटि बाबुराम भट्टराईजी अध्यक्ष हुनोस् भनेर प्रस्ताव गरेको थिएँ। त्यो पनि एउटा प्रयोग किन नगर्ने भन्ने पनि भएको थियो। तर, तत्काल पार्टी वैचारिक, राजनीतिक, सांगठानिक, सांस्कृतिक रुपले त्यसको पृष्ठभूमि तयार भइसकेको थिएन। झण्डै २५–३० वर्ष म, कमरेड किरण, बाबुराम भट्टराई, पोष्टबहादुर बोगटीलगायत सिनियर नेताहरु एउटै कमिटीमा बस्यौँ। उत्तराधिकारीको पनि तयारी गर्ने भनेर हामीले धेरै छलफल गरेका छौं। हजारौँ नेता कार्यकर्ताहरुको टीम तयार पार्ने प्रक्रियामा पनि हामी गएका हौं। अहिले बीचमा कन्फ्युज जस्तो भएको त साँचो हो। तर, हेर्यौं भने फेरि हजारौं नेता कार्यकर्ताको जमात छ।’

कोही पनि नेता बाँचुञ्जेल अध्यक्ष भइराख्नुपर्छ भन्ने आफ्नो बुझाइ नरहेको उनले बताए। ‘आजको देशको राजनीतिक अवस्था जस्तो छ, विचारलाई परिमार्जन गर्ने हाम्रो सामूहिक प्रयासभित्र मेरो भूमिका जहाँनेर छ, अझै केही वर्ष मैले यो भूमिकालाई निर्वाह गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ। हामी सबै लिडरसिपको साथीहरुलाई लागेको छ। पार्टी पंक्तिलाई पनि लागेको छ। मलाई लाग्छ जनताको पंक्तिलाई पनि लागेको छ। त्यसकारण यो व्यक्तिगत इच्छा र रहरको कुरा होइन। सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रुपमा यो देशलाई स्थायित्व र विकासतिर लैजानका लागि प्रचण्डको भूमिका आवश्यक छ भन्ने ठहर हो पार्टीको। कतिपय साथीहरुले सोच्नुहुन्छ, म नभएपछि त माओवादी पार्टी नै रहँदैन कि? मलाई विल्कुल त्यस्तो लाग्दैन। माओवादी पार्टीभित्र क्षमता भएका नेताहरु स्थायी समितिमा पनि, केन्द्रीय समितिमा पनि र तल पनि हजारौँको संख्यामा छन्। त्यसकारण प्रचण्ड नरहँदैमा माओवादी पार्टी रहँदैन भन्ने कुराचाहिँ विल्कुल यान्त्रिक र जड सोचाइ हो। म त के ठान्छु भने हामी कोही पनि भएनौँ भने पनि फेरि माओवादी पार्टी बनिराख्छ,’ प्रचण्डले भने।

प्रकाशित: Dec 27, 2021| 17:07 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...