भजनी- कर्णाली नदीमा भइरहेको उत्खननका कारण टीकापुर जोखिममा परेको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द गरेको छ।
यसभन्दा पहिलेका वर्षमा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थको उत्खनन गराउँदै आएको भए पनि यसवर्ष बाढीका कारण टीकापुर क्षेत्रमा ठूलो क्षति भएकोले पनि नगरपालिकाले नदीको ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खननका लागि ठेक्का नदिएको हो।
नगरपालिकाले ठेक्का दिएपछि निर्माण व्यवसायीले मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने भए पनि त्यसको अनुगमन हुन नसक्दा र सजिलो ठाउँबाट आवश्यकता भन्दा बढी दोहन गर्दा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना नै खतरामा पर्न लागेको भन्दै गुनासो बढ्न थालेको थियो। त्यसपछि यसवर्ष नदीजन्य पदार्थको उत्खनन बन्द गरेको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए।
'उत्खननकै कारण कर्णाली नदीको जोखिम बढ्यो भन्ने कुरा आएपछि हामीले पनि त्यहीँ महसुस गरेर उत्खननको कामलाई बन्द गरेका हौं,' नगरप्रमुख रावलले भने,'तोकिएको अवधिमा ठेक्का नजाने र भनेको समयमा बन्द पनि गर्न पनि ठेकेदारले आनाकानी गर्ने भएका कारणले पनि केही समस्या ल्याएको थियो।'
यदि कुनै ठाउँबाट उत्खनन गर्नुपर्ने अवस्था आएमा आफ्नै स्रोतसाधनको प्रयोग गरेर काम गर्ने तयारी रहेको जनाइएको छ। नगर प्रमुख रावलले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीमा गर्दै आएको तटबन्ध ७५ प्रतिशत फेल भइसकेको बताए।
उनले नदीको बहावलाई मध्यनजर गरेर निर्माण गरिएको भनिए पनि तटबन्धको कारण सुरक्षित भइन्छ भन्नु गलत सावित भइसकेको बताए। उता जानकी गाउँपालिकाले भने चालू आर्थिक वर्षमा पनि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले तत्कालीन जिल्ला विकास समितिले नै उत्खननको काम सुरु गरेको बताउँदै पालिकाले बन्द गरेपनि उत्खननको काम नरोकिने बताए। 'उत्खननले जोखिम बढाएको भन्नु गलत हुनसक्छ। तर अनियन्त्रित उत्खननले भने निकै जोखिम बढाएको छ,' गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, “नदीकाबीच भागमा भएका टापुलाई उत्खनन गर्न सकेको अवस्थामा भने धेरै राम्रो हुनसक्छ।'