सुर्खेत– आठबिसकोट नगरपालिका–९ रुकुमा मनबहादुर नेपाली लामो सयमदेखि बिरामी थिए। बेलाबेला अनौठो व्यवहार देखाउँथे। कोही देख्यो आक्रामक भइहाल्थे। कहिले सामान तोडफोड गर्थे त कहिले भएभरको कपडा लगाएर परिवारलाई हैरान बनाउँथे। लामो समयसम्म उपचार गर्दा पनि रोग निको भएको थिएन। मनबहादुरको अनौठो व्यवहारबाट परिवारले निकै हैरानी भोगेका थिए।
परिवारले कतै सन्चो भइहाल्छ कि भनेर एक दिन उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याए। तर, मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले उनलाई मानव सेवा आश्रम सुर्खेतमा लैजान सुझाव दिए। डाक्टर समदर्शीकै आग्रहमा परिवारले २०७८ असोज १७ गते आश्रममा पुर्याए। आश्रमले गरेको नियमित उपचार मायाले उनी दुई महिनामै पूर्ण रुपमा निको भइसकेका छन्। अहिले उनलाई परिवारसँग पुनर्मिलन गराउने तयारी गरेको छ।
गुर्भाकोट नगरपालिका–१ गौदारीका विकास सोमै पनि लामो समयदेखि मानसिक रोगबाट थलिए। जति उपचार गर्दा पनि रोग निको भएन। उपचार सम्भव नदेखेपछि परिवारले उनलाई ११ वर्षदेखि बाँधेर घरमै राखेका थिए। विकासको व्यवहार पनि मनबहादुरजस्तै थियो।
‘मान्छे देख्यो कि कुटिहाल्ने स्वभाव रहेछ, परिवारले उनलाई बाँधेर राखेका रहेछन्’, मानव सेवा आश्रम सुर्खेतका सहसंयोजक उद्धव जोशीले भने, ‘दुई महिनादेखि आश्रममा उपचार गराइरहेका छौं। उहाँ (विकास) को स्वास्थ्यमा क्रमिक सुधार आएको छ।’ सोमै कात्तिक १२ गतेदेखि आश्रममा उपचाररत छन्।
वीरेन्द्रनगर–१२ झुप्राका पूर्णबहादुर बुढा पनि लामो समयदेखि मानसिक रोगी थिए। उनको व्यवहार पनि मबहादुर र विकासजस्तै थियो। आश्रममा आएदेखि पूर्णको व्यवहार पनि बदलिएको छ। स्वास्थ्यमा पूर्णरुपले सुधार भएपछि उनलाई आश्रमले पुनर्मिलन गराउने तयारी भइरहेको छ। यही साताभित्र परिवारसँग पुनर्मिलन गराउने आश्रमको तयारी छ।
मनबहादुर, विकास र पूर्णमात्र होइन। आश्रमले मानसिक रोगबाट थलिएका र परिवारको अपहेलनापछि सडक पुगेका नागरिकको उद्धार र उपचार गर्दै आएको छ। तीन वर्षअघि मात्रै सुर्खेतमा स्थापना भएको मानव सेवा आश्रमले हालसम्म २५६ जना उद्धार गरेको छ। आश्रमले हालसम्म ११३ जनाको मानसिक रोगीको उपचारपछि परिवारसँग पुनर्मिलन गराएको छ। तीमध्ये अधिकांश रोगी बेसाहरा थिए।
आश्रमको आम्दानीको कुनै स्रोत छैन, दाताको सहयोगबाट नै आश्रय चलेको छ’, आश्रमका सहसंयोजक जोशी भन्छन्, ‘पछिल्लो समय दाताहरु घटेपछि आश्रमलाई आर्थिक अभाव भएको छ।’
पारिवारिक माया र नियमित उपचार गरेर मानसिक रोगीलाई निको (सन्चो) हुने गरेका छन्। ‘आश्रमको माया र नियमित हेरचाह नै मानसिक रोगीहरुको उपचार हो’, आश्रमका सह–संयोजक जोशी भन्छन्, ‘आफन्त र परिवारको माया नपाएका कतिपय रोगी मायाले नै निको हुन्छन्।’
बेसहारा नागरिकको सेवामा सक्रिय मानव सेवा आश्रम पछिल्लो समय आफैं आर्थिक भारले थिचिँदै गएको छ। कोरोना महामारीपछि आश्रमको सहयोग ह्वात्तै घटेको छ। ‘आश्रमको आम्दानीको कुनै स्रोत छैन, दाताको सहयोगबाट नै आश्रय चलेको छ’, आश्रमका सहसंयोजक जोशी भन्छन्, ‘पछिल्लो समय दाताहरु घटेपछि आश्रमलाई आर्थिक अभाव भएको छ।’
यद्यपि आश्रम सेवाबाट पन्छिएको छैन। ८० जनासम्मलाई सेवा गर्दै आएको छ। उनीहरुको खाना, नियमित औषधि उपचार र लत्ताकपडा जुटाउन समस्या छ। वीरेन्द्रनगर नगरपालिकाले आश्रमको भाडा तिरिदिने गरेको छ। भाडाबाहेक आश्रमको नियम स्रोत छैन। आश्रममा हाल २४ जना महिला र ४९ जना पुरुष गरी ७३ जना आश्रित छन्। ६० जना क्षमता भएको आश्रमले कहिले ८० जनासम्मलाई सेवा गर्दै आएको छ।