बिहीबार, भदौ ४, २०८३

माओवादीको महाधिवेशनमा 'मिस' भएका बाबुराम, बादल र विप्लवहरू

पार्टी सुप्रिमो प्रचण्डका लागि ढाल बनेका र प्रचण्डकै आदेशमा छातीमा गोली थाप्‍न तयार भएकाहरु अहिले प्रचण्डको साथमा नभइरहँदा उनै प्रचण्डको टाउकोको मोल ५० लाख तोक्‍ने प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि बनाइएका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- तत्कालीन सत्तालाई ४० बुँदे माग राख्दै बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्ने संघर्षको थालनी गरेको माओवादीले अहिले आफ्नो आठौं महाधिवेशन गरिरहेको छ काठमाडौंमा। २०५२ साल फागुन १ गते अपत्यारिलो लाग्‍ने राजनीतिक माग राखेको माओवादी १० वर्षे सशस्त्र जनयुद्धमा होमियो। 

१० वर्षको कठिन समयमा माओवादीका 'सुप्रिमो' पुष्पकमल दाहाल 'प्रचण्ड'लाई साथ दिएका नेताहरु अहिले नेकपा माओवादी केन्द्रमा छैनन्। जनयुद्धलाई शान्ति प्रक्रियाको बाटोबाट संसदीय राजनीतिमा होमिएको माओवादी अहिले छिन्‍नभिन्‍न छ। जनयुद्धका कठिन दिनहरुमा प्रचण्डसँगै काँध जोडेर हिँडेका र प्रचण्डको लागि ढाल बनेर उभिएका नेताहरु अहिले प्रचण्डसँग छैनन्। यसलाई धेरैले प्रचण्डको केन्द्रिकृत मानसिकताको उपजको रुपमा पनि ब्याख्या गर्ने गरेका छन्। 

पार्टी सुप्रिमो प्रचण्डका लागि ढाल बनेका र प्रचण्डकै आदेशमा छातीमा गोली थाप्‍न तयार भएकाहरु अहिले प्रचण्डको साथमा नभइरहँदा उनै प्रचण्डको टाउकोको मोल ५० लाख तोक्‍ने प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि बनाइएका छन्। तर, प्रचण्डको परिवर्तनको एजेण्डाका लागि मर्न र मारिन तयार भएका नेताहरु डा. बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव भने माओवादी केन्द्रभन्दा बाहिर छुट्टाछुट्टे दल गठन गरेर बसेका छन्।

शान्ति प्रक्रियापछि संविधानसभाबाट संविधान निर्माण गर्ने कुरासम्म एकमत रहेका नेताहरु मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, जयपुरी घर्ती, पम्फा भुसाल, नेत्रविक्रम चन्द विप्लवलगायत ठूलो पंक्तिले २०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादी छोडेका थिए। 

सेना समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै ९० भन्दा बढी सभासद र ३० प्रतिशत केन्द्रीय सदस्यसहितले नेकपा क्रान्तिकारी माओवादी बनाएका थिए। पछि २०७३ साल जेठमा बादल माओवादीमै फर्किए पनि वैद्य र विप्लवहरु फर्किएनन्। 

वैद्यसँगको विमतिपछि बादल २०७३ मा माओवादीमै फर्किए। माओवादीले २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमालेसँगको एकता गर्‍यो र २०७७ फागुन २३ को फैसलाले एमाले र माओवादी ब्युँताइदियो। माओवादी ब्युँतिएपछि पनि नेकपा एकताको निरन्तरता भन्दै बादल भने एमालेमा नै रहे। अहिले वैद्य र विप्लव पनि साथमा छैनन्। विप्लवले फेरि सशस्त्र जनक्रान्ति गर्ने भन्दै अर्कै बाटो रोजेपछि वैद्य अलग्गिएका हुन्। विप्लवले २०७७ फागुन २१ मा शान्तिपूर्ण राजनीतिमा फर्किएको घोषणा गरे। उनले अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका छन्। 

बाबुरामले भने २०७२ सालमा संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भइसकेपछि माओवादी छोड्ने निर्णय गरेका थिए। उनले माओवादी छोडेर नयाँ शक्ति गठन गरे, त्यसले सार्थकता पाउन नसकेपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीसँग एकता गरे। अहिले बाबुराम जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन्। जनयुद्धमा होमिँदा एकसाथ रहेका यी सबै नेताहरु अलग-अलग पार्टीमा भए पनि माओवादी केन्द्रको महाधिवेशनस्थलमा भौतिक उपस्थिति भने जनाउन सकेनन्। 

पार्टी सुप्रिमो प्रचण्डका लागि ढाल बनेका र प्रचण्डकै आदेशमा छातीमा गोली थाप्‍न तयार भएकाहरु अहिले प्रचण्डको साथमा नभइरहँदा उनै प्रचण्डको टाउकोको मोल ५० लाख तोक्‍ने प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि बनाइएका छन्।

उनीहरुको भौतिक उपस्थिति हुन नसके पनि जनयुद्धमा उनीहरुले गरेको योगदानको कदर र परिवर्तनका लागि नेताहरुले खेलेको भूमिकालाई स्मरण गराउने गरी महाधिवेशनस्थलमा उनीहरुको सम्झनास्वरुप तस्बिरहरु भने राखिएका छन्। माओवादी केन्द्रको आठौं महाधिवेशनले ती नेताहरुलाई 'मिस' गरिरहेको संकेत ती तस्बिरहरुले गरेको छ। महाधिवेशनस्थलमा 'जनयुद्धको चित्रगाथा' भन्दै भूमिगत समयमा खिचिएका तस्बिरहरु पनि राखिएका छन्। बाबुराम, बादल, विप्लवलगायत नेताहरु 'कम्ब्याट' मा देखिएका छन्। 

कुनै दिन फेरि पनि ती नेताहरु माओवादीमा फर्किन सक्ने आशासहित उनीहरुको योगदानको कदर गर्दै ती तस्बिरहरु राखिएको खेलकुदमन्त्रीसमेत रहेका  माओवादी नेता महेश्‍वरराज गहतराजले बताए। भने, 'माओवादी आन्दोलनमा उहाँहरुको योगदानको कदर गर्दै हामीले उहाँहरुको तस्बिर राखेका हौं।' ती नेताहरु पार्टी छोडेर गएको भए पनि उनीहरुको योगदानले नै मुलुकमा आजको परिवर्तन सम्भव भएकोले त्यसलाई बिर्सन नमिल्‍नेसमेत उनले बताए। उनले थपे, 'पार्टी छाडे पनि योगदान बिर्सिन मिल्दैन। आज बाटो बिराएर अन्यत्र गए पनि भोलिका दिनमा फेरि पनि मूल पार्टीमा फर्किने सम्भावना त फेरि जीवितै छ। उहाँहरुका लागि पार्टीमा सधैँ ढोका खुला नै रहनेछ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले जनयुद्धको २५ वर्ष पूरा गरेको अवसरमा लेख लेख्दै भनेका थिए, 'कहिले जंगलमा एक्लै हराएको र दौडिरहेको दुस्वप्नमय दृश्य पनि आउँछन्। मध्यरातमा ब्युँझिएर एक्लै आफैँसँग हाँस्छु।' उनको यस अभिव्यक्तिले माओवादीमा रहँदा देश परिवर्तनका लागि प्रचण्डसँगै काँध जोडेर गरेको संघर्ष सम्झिने गरेको स्पष्ट पारेको छ। प्रचण्डले पनि पार्टीको आठौं महाधिवेशनस्थलमा सँगै संघर्ष गरेका नेताहरुको तस्बिर राखेर उनीहरुको योगदानको कदर गरेको सन्देश दिन खोजेका छन्। 

प्रचण्डले बेलाबेला विभिन्‍न कार्यक्रमहरुमा भन्‍ने पनि गरेका छन्, 'पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्छ।' हिजो एक साथ हुँदा करिब दुई वर्षदेखिको राजतन्त्रलाई परास्त गर्न सफल भएको र भोलिका दिनमा मुलुक निर्माण र परिवर्तनका लागि त्यही एकता आवश्यक रहेको प्रचण्डले बताउने गरेका छन्। प्रचण्डको एकताको अभिव्यक्तिप्रति बाबुराम पनि केही हदसम्म कन्भिन्स भए पनि तत्काल नै एकताको सम्भावना नरहेको र यसका लागि प्रचण्ड परिवर्तन हुनुपर्ने प्रतिक्रिया दिने गरेका छन्। त्यो एकता गर्न सकिने सम्भावना बलियो हुँदै गएको सन्देश दिन पनि ती तस्बिरहरु राखिएको महाधिवेशनमा सहभागी नेताहरुले बताएका छन्।

प्रकाशित: Dec 26, 2021| 18:05 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...