काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन्। काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन्।
सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन्।
आइतबारबाट सुरु भएको महाधिवेशन ५ दिनसम्म चल्ने माओवादीले जनाएको छ।
आफू नेतृत्वको सरकार ढाल्ने प्रयासका लागि तत्कालीन नेकपाका अर्का अध्यक्ष रहेका प्रचण्डले भूमिका खेलेको र उनकै अध्यक्षतामा भएको माओवादी केन्द्रसँग ओली असन्तुष्ट थिए। सार्वजनिक कार्यक्रममा ओली-प्रचण्डबीच दोहोरी चल्ने गरेको छ।
यसअघि चितवनमा भएको एमाले महाधिवेशनमा प्रचण्डलाई निम्तो दिइएपनि उनी सहभागी भएका थिएनन्। प्रचण्डले नेता लीलामणि पोखरेललाई एमाले महाधिवेशनमा पठाएका थिए।