काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रित हुन अपिल गरेका छन्।
चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन अपिल गरेका हुन्।
माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि माओवादीले ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी पनि उनले गराएका छन्। महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने प्रचण्डले जनाएका छन्।
मालेमावादी विश्वदृष्टिकोणको आलोकमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डले उल्लेख गरेका छन्।