बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिने

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक आज बिहान ८ बजे बस्ने गरी बोलाइएको माओवादी केन्द्रले जनाएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक आज बिहान ८ बजे बस्ने गरी बोलाइएको माओवादी केन्द्रले जनाएको छ।

आज बस्ने बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्ने छ। आजदेखि पुस १३ गतेसम्म काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन छ। 

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई पार्टीको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भएको छ।

देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको हो।

स्थायी समितिको बैठकपछि शनिबार पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिएका थिए। 

माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौँ महाविधेशनको नाम दिइने छ।

महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ। अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन। हाल कायम रहेका स्थायी समिति सदस्यलाई पदाधिकारीमा रुपान्तरण गर्ने गरी १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय शुक्रबारको स्थायी समिति बैठकले गरिसकेको छ। 

हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय रहेको छ। आइतबारदेखि सुरु हुने महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ। त्यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ। मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ।

माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ। पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ। माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ।  कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ।

माओवादीको अन्तरिम विधान २०७८  को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ। यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ। खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ। माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ।

प्रकाशित: Dec 26, 2021| 07:09 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...