काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित केन्द्रीय सदस्यमा मनोनयन गर्ने भएका छन्। कांग्रेसको विधान अनुसार सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउने प्रावधान रहेको छ।
जसमा सभापतिमा पराजित प्रकाशमान सिंह, कल्याण गुरूङ, उपसभापतिमा पराजित विजय गच्छदार, महामन्त्रीमा पराजित प्रकाशशरण महत, रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी भइरहेको छ।
उनका अनुसार आजै साँझसम्म मनोनित गर्ने तयारी भएको एक पदाधिकारीले जानकारी दिए।
त्यसैगरी सभापति देउवाले शनिबार नै वरीयताक्रम पनि निर्धारण गरेका छन्। सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए।
उनका अनुसार वरीयता निर्धारणका लागि तीन वटा विकल्पमा छलफल भएको थियो। पहिलो विकल्प थियो– सभापति देउवा, रामचन्द्र र शेखरलाई राखेर वरीयता मिलाउने। यस्तै सभापति र पदाधिकारीपछि शेखरलाई राख्नुपर्छ भन्ने विकल्प पनि थियो। अर्थात् पूर्वपदाधिकारीभन्दा माथि शेखरलाई राख्नुपर्छ भन्ने विकल्पमा छलफल भएको थियो।