काठमाडौं– कांग्रेस सभापतिको निर्वाचनमा दोस्रो भएका शेखर कोइरालालाई पार्टीले २० औं नम्बरको वरीयतामा राखेको छ। शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो।
सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा राखिएको छ। कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए। कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।
१० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरीयतामा राखिएको थियो। सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरीयता निर्धारण गरिएको थियो। तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई २० ओैँ नम्बरमा राखिएको छ।
शेखरलाई २० औं वरीयतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले निकै कसरत गर्नुपरेको बताइएको छ।
देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन्। वरीयतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा छन्। १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरीयता ३५ औं नम्बरमा थियो। शेखरलाई २० औं वरीयतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले निकै कसरत गर्नुपरेको बताइएको छ।