मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वर्षासँगै मुलुकभर बाढी-पहिरोको सकस, आधा दर्जन सडक अवरुद्ध

वर्षासँगै मुलुकभर बाढी-पहिरोको सकस, आधा दर्जन सडक अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढीका कारण विभिन्न ठाउँ डुबानमा परेका छन् भने केही स्थान पहिरोको उच्च जोखिममा परेका छन् । 

पछिल्लो २४ घण्टामा पूर्वका केही स्थान, मध्य र पश्चिम तरार्इका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा ८८ मिलिमिटर वर्षा भएको विभागले बताएको छ । त्यसैगरी मध्य, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

वर्षाको क्रम तत्काल नरोकिने जानकारी गराउँदै मौसमविद्हरूले सतर्क रहन अपिल गरेका छन् । नदी किनारका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान र पहिरोको जोखिममा रहेका सर्वसाधारणलाई घरबाहिर बस्न सुझाव दिएका छन् ।  

वर्षासँगै आएको बाढीका कारण सप्तरी, सिरहा, धनुषा, नवलपरासी, बाँके, दाङलगायत जिल्लाका विभिन्न गाउँ डुबानमा परेको स्थानीय बासिन्दाले बताएका छन् । यता काभ्रेको बनेपानजिकै पर्ने पुलबजार डुबानमा परेको छ । काभ्रेको पुण्यमाता खोलामा आएको बाढी बस्तिमा पसेपछि पुलबजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको प्रहरीले जनाएको छ । 

यस्तै, वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । बाढीका कारण भक्तपुरका जगाती र बाराहीका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको प्रहरीले जनाएको छ । 

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन नपाएको प्रहरीले बताएको छ । 

आधा दर्जन सडक अवरुद्ध

वर्षासँगै आएको बाढी र पहिरोका कारण करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् ।  मध्यपहाडी, बीपी, अरनिको, फर्पिङ-हेटौंडा, पोखरा–बागलुङ सडक अवरुद्ध भएका हुन् । 

बाढीले पुलबजार क्षेत्र जलमग्न भएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ भने काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा पहिरो खसेपछि बीपी राजमार्ग ठप्प भएको छ । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए । 

यस्तै, सिन्धुली फिक्कल गाउँपालिका-२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको सिन्धुलीखण्ड अवरुद्ध भएको छ । सडकमाथिबाट माटो खसिरहँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरीका एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । पहिरो पन्छाउने प्रयास भइरहेको पनि उनले बताए । 

पहिरोका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका-५ बाजुङमा पर्ने ध्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । 

बुधबार राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौं सवारी साधन रातिदेखि नै बीचैमा अलपत्र परेका छन् । यस्तै पहिराेका कारण फर्पिङ-हेटौंडा सडकखण्ड पनि पहरोका कारण बन्द भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।