काठमाडौं- नेपाली कांग्रेसका निर्वतमन सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो हारमा कसैलाई पनि दोषारोपण नगर्ने बताएका छन्। महामन्त्रीमा पराजित भएका डा. महतले शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा उनले आफूले अनपेक्षित नतिजा प्राप्त गरेको बताए।
उनले भने, 'नतिजा अपेक्षा अनुसार आएन। त्यसलाई स्वीकार गर्नुपर्छ, गर्छु। म साथीहरुको जितमा खुसी हुन्छु। मेरै हैसियत अनुसार पार्टी र देशका लागि काम गरिरहन्छु। मैले स्ट्रङ मत प्राप्त गरेको छु, अनेक बाधा व्यवधानकाबीच त्यो मत प्राप्त गरेको छु। आगामी दिनमा थप उर्जाका साथ काम गर्छु। टिम आधारमा मतदान भएको थियो। मेरो हकमा टिम 'इन्ट्याक्ट' देखिएन। कसले गर्यो भन्न चाहन्नँ। मैले सहयोग पाइनँ। मेरै कमजोरी रह्यो होला। कसैलाई दोषारोपण गर्दिनँ।'
महामन्त्रीमा मात्रै यस्तो नतिजा आएको उल्लेख गर्दै उनले त्यसको समीक्षा हुनेसमेत बताएका छन्। उनले थपे, 'यो अनेपेक्षित परिणाम आएकोमा म मात्रै होइन अरूलाई पनि लागेको छ। म काम गर्ने मान्छे हुँ, काममा विश्वास गर्छु। भोलीका दिनमन अझ उत्साहका साथ काम गर्छु। मैले आफूलाई केन्द्र बिन्दुमा राखेर काम गरेको छैन, पार्टी हितमा काम गर्छु।'
उनले आफू अवसर पाउने बित्तिकै, अवसर लिउँ भन्ने मानसिकतामा नरहेको बताएका छन्। उनले थपे, 'म जे हुन्छु, जहाँ रहन्छु म ठिक गर्छु भन्ने भावना ममा छ। यो पराजयले मलाई थप उर्जा दिनेछ। यसले मलाई समयको सुविधा दिएको छ। यसको उपयोग गर्नेछु।'
'मलाई कसले हरायो भन्ने समीक्षा तपाईंहरूले नै गर्नुस्,' उनले थपे, 'मेरो हारको समीक्षा भइरहेको छ, पार्टीका साथीहरूले पनि गरिरहनुभएको छ। म केही भन्दिनँ। मैले जहिले पनि पार्टीको मात्र कुरा गरेको छु।'
उनले आफूहरु व्यक्तिवादी भएको उल्लेख गर्दै भने, 'म देउवाको समालोचना पनि गर्दै आएको थिएँ, अहिले पनि गर्नेछु। हामी सुख-दु:ख झेलेर आएको हौं। नेतृत्वलाई सहयोग पनि गर्ने हो। कमजोरी भयो भने भन्ने पनि हो। अहिले व्यक्तिवादी जमना छ। संस्था पहिलो भन्ने मान्यता स्थापित हुन सकेको छैन।'
कोही आउँदैमा पार्टी बन्ने र कोही नआउँदैमा पार्टी सकिने भन्ने नभएको उल्लेख गर्दै उनले भने, 'धेरै भाववेषमा आएर बहकिन हुँदैन। यो कुरा सबैले बुझ्न जरूरी छ। हामी धेरैले आफूलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौं। हामीले पार्टीलाई, विचारलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ।'