काठमाडौं- सरकारले कोभिड-१९ विरुद्धको थप डोज दिने तयारी गरेको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिए पुस अन्तिम सातादेखि बुस्टर डोजका रूपमा थप डोज दिने तयारी गरिएको जानकारी दिए। राष्ट्रिय खोप सल्लाहकार समितिले पनि तेस्रो डोज दिने निर्णय गरिसकेको छ। जेष्ठ नागरिक तथा दीर्घरोगीलाई थप डोज दिन सकिने सिफारिस समितिको छ।
समितिले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि मात्रै बुस्टर डोज दिन सकिने सिफारिस गरेको थियो। हाल नेपालमा १८ वर्षमाथिका लक्षित जनसंख्याको ४९.४ प्रतिशतले पूर्ण रुपमा खोप लगाइसकेका छन् भने ६३.६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्। पूर्ण खोप लगाइसकेपछि पनि शरीरमा एन्टिबडी कम हुँदै जाँदा बढाउन लगाइने खोप हो, 'बुस्टर डोज'।
एकपटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिका बिस्तारै निष्क्रिय हुँदै जान्छ। ती कोषिका सक्रिय बनाउन फेरि खोप दिइन्छ। जसले गर्दा फेरि एन्टिबडी बन्न सघाउ हुन्छ। कोभिड-१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा एन्टिबडी कम हुँदै गएपछि कोरोना संक्रमणबाट हुने जोखिम पुनः बढ्दै जान्छ। त्यसैले बुस्टर डोज आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन्। धेरै देशले बुस्टर डोज सुरु गरेको महिनौं भइसकेको छ।
‘नेपालमा अझै पनि खोप नपाएका मानिस धेरै छन्। उनीहरुलाई बेवास्ता गरेर पहिला लगाएकालाई बुस्टर डोज दिनु त्यति उपयुक्त हुँदैन, तर बुस्टर डोज पनि भुल्नु हुँदैन।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक शेरबहादुर पुन नेपालमा बुस्टर डोज सुरु गर्नुपर्ने समय भइसकेको बताउँछन्। पुन भन्छन्, ‘नेपालमा अझै पनि खोप नपाएका मानिस धेरै छन्। उनीहरुलाई बेवास्ता गरेर पहिला लगाएकालाई बुस्टर डोज दिनु त्यति उपयुक्त हुँदैन, तर बुस्टर डोज पनि भुल्नु हुँदैन।’
बुस्टर डोजका रुपमा फरक खोप लगाउन मिल्छ?
बुस्टर डोजका विषयमा धेरै तर्क आएका छन्। कसैले बुस्टर डोज पनि पहिला लगाएका दुई वटा खोपलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् भने कोहीले फरक खोप दिँदा प्रभावकारी हुन्छ भन्ने तर्क गरेका छन्। जीवविज्ञ डा. सन्तोष दुलाल बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने बताउँछन्।
बुस्टर डोजका रुपमा फरक डोज लगाउन मिल्नेमा डा. पुनको पनि सहमति छ। विभिन्न अध्ययनले बुस्टर डोज फरक लगाएका व्यक्तिमा प्रभावकारी देखिएको डा. पुन बताउँछन्। दुलाल भन्छन्, ‘बुस्टर डोज पहिला लगाएको भन्दा फरक खोप लगाउँदा प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ। सोहीअनुसार अमेरिकामा पनि पहिलो दुई डोज मोडेर्ना खोप लगाउनेले बुस्टरका रुपमा फाइजर खोप लगाइरहेका छन्। अन्य देशमा पनि बुस्टर डोज लगाउँदा फरक डोज लगाएका छन्।’
खोप लगाएको ६ महिनापछाडि मानिसको शरीरमा एन्टिबडी कम हुँदै जाने पुष्टि भइसकेको छ। त्यसैले पहिलाको खोपको एन्टिबडी कम भएपछि अर्को खोप लगाउँदा प्रभावकारी हुने विज्ञहरू बताउँछन्।
दुलालका अनुसार नेपालमा पहिले कोभिसिल्ड लगाएकाले भेरोसोल, अस्ट्राजेनिका, फाइजर खोप लगाउनु उपयुक्त हुन्छ। पहिलो दुई डोज एक प्रकारको खोप लगाएका व्यक्तिले पुनः सोही खोप नलगाई अर्को खोप लगाउन प्रभावकारी हुने उनी बताउँछन्। नेपालमा आधाभन्दा बढी जनसंख्याले कोरोनाविरुद्धको खोप लगाउन बाँकी छ। त्यसैले बुस्टर डोजभन्दा पनि पहिला सबै नागरिकलाई खोप लगाउन प्राथमिकतामा राख्नुपर्ने एकथरी विज्ञहरूको तर्क छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दीर्घरोगी तथा जेष्ठ नागरिकले पहिला जुन खोप लगाएका थिए, तेस्रोपटक पनि सोही खोप दिन लागिएको हो। हाल सरकारसँग एक करोडभन्दा धेरै खोप भण्डारणमा छ। हालसम्म तीन करोड ८५ लाख ३९ हजार ३६७ डोज खोप प्राप्त भएको छ भने २ करोड २५ लाख १० हजार ८१८ मात्रा खोप लगाइएको छ। जसमध्ये १ करोड २६ लाख ७२ हजार ४४२ जनाले पहिलो मात्रा र ९८ लाख ३८ हजार ३७६ जनाले पूर्णमात्रा खोप लगाएका छन्।
दैनिक दुई लाखका दरले खोप लगाएर चैत मसान्तसम्ममा लक्षित समुहलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ। त्यसैले सरकारले छिटो लक्षित बर्गलाई लगाइसकेर बाँकी रहेका खोपलाई बुस्टर डोजका रुपमा प्रयोग गर्न विज्ञहरूको आग्रह छ।