काठमाडाैं- हामी विकासका ठूलाठूला गरिरहेका छौं। अर्कोतर्फ संसारका करिब ४२ प्रतिशत जनसंख्या पौष्टिक आहार खरिद गर्न नसक्दा समस्यामा परेका छन्। यसको अर्थ के हो भने संसारका ३०० करोड मानिस आफू र सन्तानका लागि पौष्टिक आहार खरिद गर्न सक्षम छैनन्। त्यसैले उनीहरू आफ्ना सन्तानलाई पर्याप्त पोषण उपलब्ध गराउन सक्दैनन्।
यति मात्र होइन, आर्थिक संकटका कारण जनताको आम्दानी एक तिहाइले घट्यो भने थप १०० करोड मानिसले पौष्टिक खाद्यान्न किन्न नसक्ने अवस्था आउन सक्ने अनुमान खाद्य तथा कृषि संगठन (एफएओ) ले गरेको छ। विश्व यातायात व्यवस्थामा बाधा उत्पन्न भयो भने करिब साढे ८४ करोड मानिसले पहिलेको तुलनामा खाद्यान्न महँगोमा किन्नुपर्ने तथ्य एफएओको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
जलवायु परिवर्तन, महामारी, कृषि र अर्थव्यवस्थामा आएको परिवर्तन खाद्य व्यवस्थाका लागि चुनौतीका रूपमा देखा परेको छ। त्यसमाथि अचानक फैलिएको कारोना भाइरस महामारीका कारण विश्व अर्थ व्यवस्था थप जटिल बन्न पुगेको छ।
समस्या थपिएका कारण कठिनाइ सामना गर्नुपर्ने भएको छ। त्यसैले विश्वमा भोकमरीको संकट पहिले भन्दा ज्यादा बढेको छ। एफएओका अनुसार २०२० मा विश्वका करिब ७७ करोड मानिस भोकमरीको सिकार बनेका थिए। यो विश्व जनसंख्याको १० प्रतिशत हो । सन् २०१९ मा भन्दा सन् २०२० मा थप १२ करोड मानिस भोकमरीको चपेटमा परेका थिए।
प्रतिवेदनअनुसार विश्वले सन् २०३० सम्ममा भोकमरी र कुपोषण उन्मूलनका लागि तय गरेको लक्ष्य हासिल गर्ने सम्भावना महामारी हुनुअघि नै देखिएको थिएन। अब महामारीले यो समस्यालाई झनै विकराल बनाइदिएको छ। महामारी मात्र होइन, जलवायु परिवर्तन, द्वन्द्व र खाद्यान्नको बढ्दो मूल्य विश्वव्यापी रूपमा खाद्य उत्पादन र आपूर्ति शृंखलालाई असर गर्ने प्रमुख कारण बनेका छन्। सबैभन्दा ठूलो चुनौती त यस्ता समस्या पटकपटक दोहोरिनु र दिनप्रतिदिन बढ्दै जानु हो।
उत्पादन, बजार र आपूर्ति शृंखला व्यवस्थित बनाउने हो भने यस्तो संकटको सामना सजिलै गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
विश्वमा हरेक वर्ष औसतमा ११०० करोड टन खाद्य उत्पादन हुन्छ। यसबाहेक तीन करोड टनभन्दा बढी फाइबर र ४०० करोड क्युबिक फिट काठ उत्पादन हुन्छ। संसारका करोडौं मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा आश्रित छन्। यसमा २५ प्रतिशतले रोजगारी पाएका छन्।
यस्तै अफ्रिकामा ५० प्रतिशतभन्दा बढी मानिस रोजगाकारीका लागि कृषिमा निर्भर छन्। विपन्न देशका ६० प्रतिशत मानिस आफ्नो जीविकाका लागि कृषिको सहारा लिइरहेका छन्।
एफएओले संकट समाधानका लागि उचित रूपमा पूर्वतयारी नगर्ने हो भने कृषि तथा खाद्य व्यवस्था दिनप्रतिदिन कमजोर हुँदै जाने चेतावनी दिएको छ। उत्पादन, बजार र आपूर्ति शृंखला व्यवस्थित बनाउने हो भने यस्तो संकटको सामना सजिलै गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
यसका लागि साना तथा मझौला कृषि खाद्य उद्यम, सहकारी र कृषि उद्यम समूहको विकासमा जोड दिनुपर्नेछ। यस्तै कृषि र खाद्य उत्पादनको सञ्जाल विश्व स्तरमा विस्तारका लागि कनेक्टिभिटीमा जोड दिनुपर्ने सुझाव एफएओको छ। प्रतिवेदनमा भनिएको छ, ‘कमजोरहरूलाई सशक्त बनाएर संसारबाट भोकको समस्या समाधान गर्न सकिन्छ।’