चितवन- नेपाली कांग्रेसको १४औँ महाधिवेशन चितवन जिल्लाका लागि ऐतिहासिक बनेको छ। यसअघिसम्म एक जना पनि केन्द्रीय सदस्य नसमेटिएको चितवनबाट यसपाली एकैपटक ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
आदिवासी जनजाति समूहको खुलाबाट केन्द्रीय सदस्यमा कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ र राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचित भएका छन्। आदिवासी जनजाति महिलातर्फबाट चितवनकी अन्जनी श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भइन्।
त्यसैगरी दलित महिलातर्फबाट शान्ति परियार पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएरपछि केन्द्रीय सभापति शेरबहादुर देउवाको दबाबमा उम्मेदवारी फिर्ता लिएका दिनेश कोइराला खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। यससँगै कांग्रेसको केन्द्रीय सदस्यमा चितवनबाट प्रतिनिधित्व गर्नेको संख्या पाँच पुगेको हो।
उता जिल्ला सभापति जीतनारायण श्रेष्ठ भने केन्द्रीय सदस्यमा पराजित भए। आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठ पराजित भएका हुन्।
आदिवासी जनजाति समूहको खुलाबाट आठ जना निर्वाचित हुनेमा उनी नवौं स्थानमा परे। थोरै मत अपुग हुँदा निर्वाचित हुन नसकेको स्वीकार गर्दै उनले निर्वाचनलाई सिकाइको रूपमा लिने बताए। उनले पहिलो पटक केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए।