काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताएका छन्। उनले अधिकतम रूपमा राष्ट्रिय सहमति कायम गरेर भए पनि एमसीसी पारित गर्ने पनि बताए।
दाहालले न्युज एजेन्सीसँग बिहीबार कुरा गर्दै भने, ‘एमसीसीकै कारण गठबन्धन टुट्दैन, टुट्न दिइँदैन।’ उनले एमसीसीका विषयमा बुधबारमात्रै आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको जानकारी दिए। दाहालले एमसीसीबारे गलत प्रचार गरेर अनावश्यक विवाद सिर्जना भइरहेको बताए। भने, ‘सुरुमा सम्झौता हुँदा एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने भन्ने विषय थिएन। बिस्तारै अमेरिकाको आफ्नो विश्वव्यापी अंग भन्ने प्रचार भयो। एमसीसी राष्ट्रको हितमा छैन भन्ने गयो।’
सम्झौतामा भएका त्रुटि सच्यएर राजनीतिक दलहरुबीच अधिकतम समझदारी कायम गरी पारित गर्नुपर्ने उनको भनाइ छ। उनले एमसीसीका बारेमा नागरिक समाज र बुद्धिजीवीहरुबीच पनि छलफल गराउनुपर्ने आवश्यकतामा जोड दिए।
एमसीसी सम्झौताबारे अध्ययन गर्न सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकतत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा ज्ञानेन्द्रबहादुर कार्की र नारायणकाजी श्रेष्ठ सदस्य छन्। दाहालले भने, ‘कार्यदलले कहाँकहाँ त्रुटि छ भनेर अध्ययन गरिरहेको छ।’