जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
मतदानका लागि तयारी अपुग भएपछि मतदान बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए।
मतपत्र छपाईको काम सम्पन्न हुन नसकेकाले मतदान कार्यक्रम सार्नु परेको उनले बताए। यसअघि बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको मतदान कार्यक्रम अन्तिम नामावली प्रकाशनमा ढिलाई भएपछि मतदान हुन सकेको थिएन।
प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार मतदान जनकपुरस्थित गोपाल धर्मशालामा आज बिहान ८ बजेदेखि हुने छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार ७२ पदका लागि एक सय ७४ जनाले उम्मेदवारी दिएका छन्।